१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेंसीशहर नगरपालिकामा खानेपानी अभाव, उपभोक्ता पीडित



जेठ २, लमजुङ । बेंसीशहर नगरपालिकामा खानेपानी अभावले उपभोक्ता पीडित भएका छन् । खानेपानीको मुहान सुक्दै गएकाले बेंसीशहरमा दुई महीनाअघिदेखि खानेपानीको अभाव हुँदै आएको हो ।

खानेपानीको अभावले यहाँका होटल, व्यवसाय, बालगृह, मानवसेवा आश्रम र विभिन्न अस्पतालदेखि स्थानीयवासीसमेत समस्यामा परेका छन् । बेंसीशहरका बासिन्दाले पनि पर्याप्त धाराको पानी उपभोग गर्न पाएका छैनन् । खानेपानीका लागि ४० मिनेटसम्म खर्चेर कुवा जानुपर्ने बाध्यता भएको स्थानीयवासी कृष्णबहादुर भण्डारीले बताए ।

उनले भने, “नुहाउन तथा कपडा धुनलाई त पानी नै छैन, टाढाबाट पानी बोकेर ल्याउन गाह्रो हुन्छ ।” घरमा जडान गरिएको पाइपको पानी नआउँदा कपडा धुन, नुहाउन र दैनिक प्रयोगका लागि पानीको समस्या भइरहेको विद्यार्थी सिर्जना श्रेष्ठले गुनासो गरिन् ।

बेंसीशहरभित्रका सरकारी तथा निजी विद्यालयका विद्यार्थी समेत पानी पिउनका लागि नजिकैको कुवा चाहर्ने गरेका छन् । जिल्लामा सञ्चालित मानव सेवा आश्रममा खानेपानी कहिले आउने कहिले नआउने गर्दा पानीको समस्याले खान र सरसफाइ गर्न कठिन भएको आश्रमका अध्यक्ष अनिता अधिकारीले बताइन् । “केही हप्तादेखि खानेपानीको निकै समस्या भएकाले होटल चलाउन पनि पानीले निकै समस्या बनाएको छ”, होटल व्यवसायी गोपाल श्रेष्ठले भने । धारामा पानी पर्याप्त नआउँदा अधिकांश उपभोक्ता पानीको समस्या भयो भन्दै वर्षेनी बेंसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा गुनासो गर्दै आएका छन् ।

खानेपानीको मुख्य स्रोत नै खोला नाला हो, सुक्खा जमीन भएकाले पानीको मुहान सुक्दै जाँदा खानेपानी कम आएको बेंसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताए ।

उनले भने, “पानी कम भएकाले विद्युत्भार कटौती गरी बिहान र बेलुका मात्र पानी वितरण गरेका छौँ । अहिले वितरित पानी पनि कम हुँदै गएकाले अर्को व्यवस्था नभएसम्म पानी कम हुने समितिका अध्यक्ष प्रधानको भनाइ थियो । बेंसीशहर नगरपालिकाभित्र दुई हजार ६७५ वटा धारामा पानी वितरण भएको र उक्त धाराको पानी झण्डै ५० हजारले प्रयोग गर्दै आएको अनुमान उक्त समितिको छ ।

समितिका अनुसार बेंसीशहरका उपभोक्तालाई पर्याप्त खानेपानीका लागि दैनिक ५२ लाख लिटर आश्वयकपर्ने भए पनि बिहान र बेलुकी गरेर मुश्किलले १७ लाख लिटर पानी वितरण भइरहेको समितिले जनाएको छ । दुई ठाउँका खानेपानी ट्याङ्की साढे सात लाख लिटर क्षमताका रहे पनि पानी कम आएकाले समय मिलाएर पानी दिइएको छ । शेरा र क्याम्पस क्षेत्रमा बेलुका र अन्य ठाउँमा बिहान खानेपानी वितरण हुँदै आएको छ ।

उक्त समितिले पुमाखोला, डुदखोला, मधीर, लब्ले, साम्ली, फुर्केभिरलगायत ठाउँबाट खानेपानी ट्याङ्कीमा पानी जम्मा गरी वितरण हुँदै आएको छ । बेंसीशहरका उपभोक्तालाई अझै आगामी १५ असारसम्म पर्याप्तमात्रामा पानी वितरण गर्न नसकिने समितिका अध्यक्ष प्रधानले बताए । वर्षेनी पानीको अभाव हुँदा दीर्घकालका लागि ट्याङ्की निर्माण भइरहेको सो समितिले जनाएको छ ।

उक्त समितिको अगुवाइमा २८ करोड ८३ लाखको लागतमा सो आयोजना आगामी असोज महीनामा निर्माण गरिसक्ने जनाइएको छ । आयोजना सम्पन्न भएपछि प्रतिसेकेण्ड २५ लिटर पानी उपलब्ध गराउने गरी करीब ३० वर्षसम्मलाई खानेपानी पुग्ने उक्त समितिले जनाएको छ ।

उक्त आयोजना खानेपानी तथा सरसफाइ मन्त्रालय र ढल निकास विभागको सहकार्यमा हुन लागेको समितिका अध्यक्ष प्रधानले बताए । चार लाख लिटरको ट्याङ्की चार लाख लिटरको फिल्टरसहितको हुने भएको छ । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार ००:००