८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चेबाजा संरक्षण गर्दै स्थानीय तह



वैशाख २९, जीतपुर । विवाह–व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अहिले लोपोन्मुख अवस्थामा छ । परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हुँदै गएको छ ।

विशेषगरी दर्जी समुदायका व्यक्तिले यो बाजा बजाएरै जीवन निर्वाह नहुने भएपछि अरू पेशामा लाग्दा बाजाको संरक्षण हुन नसकेको हो । बेरोजगारीको समस्याले दैनिक भारत तथा अन्य मुलुकमा युवा पलायन हुँदै गर्दा साथै पेशाको संरक्षणको अभावले बाजा लोप हुँदै गएको समाजका अगुवाको भनाइ छ ।

गाउँमा हुने विभिन्न मेला, पर्व, धार्मिकउत्सव, अन्य औपचारिक कार्यक्रममा हाल बाजा त्यति धेरैमात्रामा सुन्न पाइँदैन । हाल अधिकांश पर्व वा धार्मिक कार्यमा मादल मात्र बजाउने गरिएको छ ।

त्यस्ता खालका बाजा लोप हुँदै गर्दा यसको संरक्षणमा वाणगङ्गा नगरपालिका यतिबेला जुटेको छ । पुरानो कला संस्कृति हराउन थालेकामा स्थानीयवासीले चिन्ता व्यक्तसमेत गरेका छन् । संस्कृतिको संरक्षण गर्न कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ ले परियार सेवा समाजलाई नौमती पञ्चेबाजा वितरण गरेको छ ।

वडाको बजेटअन्तर्गत सहनाई, ट्याम्को, ढोलक, नरसिङ्गा, झुर्मा लगायतका पञ्चेबाजाका एक सेट सामान वितरण गरिएको हो । युवापुस्ताले चासो नदिँदा विवाह–व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अधिकांश क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ । जानेबुझेदेखि नै पञ्चेबाजा बजाउन थालेको परियार सेवा समाज बनगाईका अध्यक्ष मानबहादुर परियारको भनाइ छ ।

परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हुँदै गएको छ । बाउबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको वडा नं ७ का ५७ वर्षीय प्रेम परियारले बताए ।

उनले भने, “कला–संस्कृति लोप हुँदै जाँदा पहिचान नै मेटिन थालेको छ ।” यस्ता चलनचल्तीमा आएका कला–संस्कृति जगेर्ना गर्न सम्बन्धित निकायले ध्यान दिनु जरुरी रहेको परियारको भनाइ छ ।

विदेशी कला–संस्कृतिको नक्कल र अनुसरणले नेपाली पुस्ता प्रभावित हुँदै जाँदा परम्परागत कला संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो भन्ने बुझेर पञ्चेबाजा वितरण गरेको वडा नं ७ का वडाध्यक्ष विष्णु गिरीको भनाइ छ ।

जातीय पहिचान बोकेको कला–संस्कृतिको संरक्षण नहुँदा अस्तित्व नै मेटिन थालेको छ । यस्ता चलनचल्तीमा आएका कला–संस्कृति जगेर्ना गर्न सम्बन्धित निकायले पनि समयमै ध्यान दिनु जरुरी छ । रासस

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार ००:००