१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिया खेती गर्दै गाउँपालिका



वैशाख २६, बलेवा । जिल्लाको काठेखोला गाउँपालिकाका दुई वडामा यसै वर्ष व्यावसायिक चिया खेती शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत काठेखोला गाउँपालिका–७ रेश र वडा नं ३ धम्जाको माथिल्लो भागमा चिया खेती गर्न थालिएको हो ।

त्यहाँको खुला जमीन उपयोग गरेर चिया खेती गर्ने गाउँपालिकाको योजनाअनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक समूहले आवश्यक हावापानी, माटो परीक्षण, तापक्रम लगायत विषयमा अध्ययन गरेर रेशको बौर र तिङरिङ तथा धम्जाको देउराली उपयुक्त रहेको जानकारी गराएकाले प्रक्रिया अघिबढाइएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।

“प्रविधिकले गरेको अध्ययनले हामीले रोजेका ठाउँ उपयुक्त रहेको भनेको छ”, उनले भने, “वडा कार्यालयमार्फत् उपभोक्ता समिति बनाएर व्यावसायिक उत्पादन थाल्छौँ ।” प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा सो काम थालिएको हो । रेशको बौर र तिङरिङमा ४० हजार चियाका बिरुवा लगाउने योजना वडा कार्यालयले बनाएको छ । बिरुवाका लागि मात्रै नौ लाख २० हजार छुट्याइएकामा बाँकी सबै काम स्थानीय उपभोक्ताले श्रमदान गर्नेछन् ।

“यहाँको जमीन भोकाधिकार गर्दै आएका सबै पक्षसँग छलफल गरेर चिया खेती गर्ने निधो गरेका हौँ”, काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले भने, “सबैको चित्त बुझ्ने गरी काम अघि बढेको छ ।” त्यस्तै धम्जाको देउरालीमा १४ हजार बिरुवा लगाउने योजना वडाले बनाएको छ ।

धम्जामा लगाउने बिरुवाका लागि दुई लाख ९७ हजार बजेट छ । बाँकी काम उपभोक्ता समितिले श्रमदान गर्ने उपभोक्ता समितिका सचिव गोपाल श्रीषले बताए । त्यसका लागि उपभोक्ता समिति गठन गरेर कामको जिम्मेवारी दिइएको स्थानीयवासी यामबहादुर श्रीषले जानकारी दिए । “चिया लगाउने क्षेत्रमा जमीन पर्ने उपभोक्ता र अन्य स्थानीयबासीको समेत सहभागितामा समिति गठन गरेर काम अघि बढेको छ”, श्रीषले भने, “उत्साहका साथ स्थानीयवासीले काम थालेका छन् ।”

उच्च पहाडी भू–भाग भएकाले दुवै वडामा सिँचाइको अभाव छ । चिया खेतीको लागि बिरुवा लगाउन खाल्डासमेत तयार भए पनि बिरुवा लगाउनका लागि असारसम्म कुर्नुपरेको उनले बताए । परीक्षणका लागि लगाइएको बिरुवाले राम्रो सफलता दिएपछि स्थानीय किसान उत्साहित भएका हुन् । रासस

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार ००:००