१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँ–गाउँमा कृषि सडक, खेतीयोग्य जमीन बाँझै



वैशाख २५, मुग्लिन । चितवनको पहाडी ग्रामीण भेगमा कृषि सडक विस्तारको कामले तीव्रता पाएको छ । ग्रामीण भेगमा पातलो बस्तीका कारण बजार आवतजावत गर्ने मानिसको सङ्ख्या भने कमै हुन्छन् ।

गाउँमा सडक पुगे पनि स्थानीयको जीवनस्तर उकास्न र सडकमा नियमित सवारी गुड्नलाई कृषिजन्य वस्तु उत्पादन आवश्यक छ तर गाउँमा खेतीयोग्य जमीन भने बाँझै छन् ।

जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–३ ले आर्थिक वर्ष २०७५/७६ को आवधिक योजनाको समीक्षा र ०७६/७७ को भावी योजनाबारे आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

कृषक शिव पौडेलले गाउँ–गाउँमा कृषि सडक निर्माणको काम तीव्र भई रहे पनि खेतीयोग्य जमीन बाँझै रहेकाले व्यावसायिक खेतीतर्फ किसानलाई प्रोत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने बताए ।

सरकारले दिने अनुदानमा वास्तविक किसानसम्म नपुग्ने भएकाले व्यवसायी खेतीतर्फ किसान आकर्षित नभएका उनको तर्क छ । गाउँमा सडक पुगेपछि केही पैसावाल व्यक्तिले गाउँका खेतीयोग्य जमीन किनेर बाँझै राख्ने गरेको पौडेलले बताए । गाउँमा सडक पुगे पनि स्थानीयको जीवनस्तर नफेरिएको उनको भनाइ छ ।

गाउँ–गाउँमा सडक विस्तारसँगै कृषकलाई व्यवसायी खेतीतर्फ आकर्षित गर्न कृषिमा आधुनिकीकरण गर्नुपर्ने अर्का किसान विष्णुप्रसाद सापकोटाले बताए । साना किसान कृषि सहकारी कुरिनटारका अध्यक्ष नरबहादुर नेपालले पनि समग्र गाउँपालिकाको समृद्धिका लागि कृषिमा जोड दिनुपर्ने बताए ।

अन्य सहभागीले पनि किसानले उत्पादन गरेका वस्तुले उचित मूल्य नपाएका कारण पनि कृषितर्फ आकर्षित नभएको बताएका थिए । उनीहरुले सडक निर्माणसँगै कृषकलाई अनुदान र तालीम दिई प्रोत्साहित गर्नुपर्ने बताए ।

गाउँमा पर्याप्त मात्रामा बजारसम्म लैजाने कृषिजन्य वस्तु उत्पादन नहुँदा नियमित सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । इच्छाकामना गाउँपालिकाको ग्रामीण भेग तरकारी तथा फलफूलका खेतीका लागि उर्वरभूमि मानिन्छ । रासस

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ००:००