वैशाख २३, भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निजी विद्यालयलाई महँगो शुल्क नलिन आग्रह गरेका छन् । प्याब्सन भक्तपुर नगर समितिलाई नगरपालिकामा बोलाएर उनले शिक्षालाई व्यापारका रुपमा नलिएर सेवाका रुपमा अगाडि बढाउन आग्रह गरेका हुन् ।
कानून र संविधानको पालना सबैको हितमा हुने तथा सबैले त्यसको पालना गर्नुपर्नेमा जोड दिँदै नगरप्रमुख प्रजापतिले भने, “शिक्षा व्यापार होइन, सेवा हो र शिक्षा एवं स्वास्थ्यमा राज्यले बढी लगानी गरी सबै जिम्मेवारी बन्नुपर्छ ।” उनले राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृति पढ्ने विद्यार्थीका लागि नगरपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको बताए ।
प्याब्सन नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले नगर शिक्षा शाखाले निर्धारण गरेको शुल्क व्यवस्थापन आवश्यक भएको उल्लेख गर्दै छात्रवृत्ति पाउने विद्यार्थीको पहिचान र शुल्क निर्धारणमा कठिनाइ आएको बताए । रासस
प्रतिक्रिया