Logo

फेरियो गाउँको मुहार



धु्रवसागर शर्मा

वैशाख २२, गलेश्वर । करीव एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण भेगमा खरले छाएका घर झुरुम्म देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई तीन दिन लगाएर पैदल यात्रा गर्नुपर्दथ्यो । सञ्चार र स्वास्थ्य त परको कुरा, एक गाग्री पानी लिन पनि एकाबिहानै उठेर एक–डेढ घण्टा गएर घण्टौं लाममा बस्नु पर्दथ्यो । अहिले भने अब ती सबै कुरा विगतका तीता स्मृतिमा परिणत भएका छन् । म्याग्दीको ग्रामीण भेगको कायापलट भएको छ ।

अब गाउँमा खरले छाएका घर देख्नै मुश्किल छ । गाउँगाउँमा पनि आर सी सी ढलान गरेर पक्की घर निर्माण गर्ने होड चलेको छ । पाइला अड्याउनै मुश्किल हुने अक्करे भिरलाई फोडेर सररर मोटर गुडेको छ । घरघरमा खानेपानीका धारा बनेका छन् भने विद्यालय र स्वास्थ्य चौकीसमेत पायक पर्ने ठाउँमै बनेका छन् । “एक दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पनै गरेका थिएनौं,” मालिका गाउँपालिका वडा नं ७ बिमका ७४ वर्षीय पलवीर जुग्जालीले भने, “हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौं, अहिले पो थाहा भयो । विकास भनेको त सुविधा पो रहेछ त ।”

गाउँगाउँमा विकासका पूर्वाधारहरु निर्माण भएपछि ग्रामीण जनताको जीवनशैली र चेतनामा समेत परिवर्तन आएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । अध्यक्ष रोकाले भने, “सुविधाका हिसाबले अब गाउँ र शहरमा खासै फरक रहेन । एक दशक अघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ । सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधा उपभोग गर्न पाएका छन् ।”

यहाँ १ लाख १४ हजार जनसङ्ख्या रहेको छ र २ हजार २९७ वर्ग मिटरमा भूभागमा यो जिल्ला फैलिएको छ । म्याग्दी जिल्लाका साविकका ४१ गाउँ विकास समितिमध्ये गुर्जा र मुनाबाहेक अन्य सबै ठाउँलाई मोटरबाटोले छोएको छ ।

स्थानीय तहलाई अधिकार प्रत्याभूत गरिएपछि जिल्लाभित्र विकासका लागि पालिका–पालिकाबीचमै प्रतिष्पर्धा चलेकाले पनि ग्रामीण जनतालाई सुविधा प्राप्त गर्न सहज भएको जनताको बुझाइ छ ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा विकासका न्यूनतम पूर्वाधारहरु पुगेका छन् । विकासका पूर्वाधारहरुसँगै जनताको आयआर्जनमा समेत वृद्धि भएपछि ग्रामीण जीवन शैलीमा पनि उल्लेख्य परिवर्तनहरु देखिन थालेका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने गरेको म्याग्दीले अब भने आफ्नो परिचय फेरेको छ । यो उद्यम, कृषि, पर्यटन र जलविद्युत्को अपार सम्भावना भएको जिल्ला भनेर चिनिन थालेको छ । लाहुर गएकाहरु पनि धमाधम फर्केर आफ्नै गाउँमा कृषि, पशुपालन वा अन्य इलम गरेर बस्न थालेका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । बेनी नगरपालिका ३ भकिम्लीका अध्यक्ष पद्म पुन भन्छन्, “विकासका पूर्वाधारहरु पुगेपछि गाउँमा नै सम्भावना खोज्ने युवा बढेका छन् । कतिपय युवा त वैदेशिक रोजगारीलाई छोडेर गाउँमा नै फर्केर व्यावसायिक कृषि र पशुपालनतर्फ लागेका छन् ।”

प्रविधि र पूर्वाधारले ग्रामीण जनताको आर्थिक अवस्थामा मात्रै परिवर्तन आएको छैन, उनीहरुको जीवनशैली, व्यवहार र खानपानमा समेत परिवर्तन ल्याइदिएको छ । सर्वसाधारणका घरका छानामा मात्र परिवर्तन आएको छैन, जीवनशैली पनि बदलिँदै गएको छ । हात हातमा नयाँ नयाँ मोडलका मोबाइल, काखकाखमा ल्यापटप र घरका भित्तामा ३५–४० इञ्चका महङ्गा टेलिभिजन राखिएका छन् । भैंसी बाँध्ने गोठ अब मोटरसाइकल लगायतका सवारीसाधन राख्ने ठाउँमा परिणत भएका छन् । केबुल नपुगेको ठाउँमा डिस होम र विद्युत् नपुगेको ठाउँमा सौर्य उपकरण राखिएको छ ।

गाउँमा खेत जोत्न हलगोरु पाल्न छोडेको पनि धेरै भयो । खेत जोत्न मिनिटेलर हलो वा ट्याक्टरको प्रयोग हुन थालेको छ । गाउँलेहरु आगो बालेर खाना पकाउन पनि छोड्दै गएका छन् । घरघरमा ग्यास सिलिण्डरको प्रयोग बढेको छ । वनमा घाँस दाउरा गर्नेहरु एकदमै कम देखिन थालेका र एक दशक अघिका नाङ्गा डाँडापाखा अहिले घना जङ्गलमा परिणत भएका मालिका गाउँपालिका वडा नं ५ देवीस्थानका वडाध्यक्ष पिपला बुढाले बताए ।

मगर बहुल म्याग्दीका ग्रामीण भेगका जनताको खानपानमा समेत परिवर्तन आएको छ । उच्च हिमाली क्षेत्रका गाउँहरुका बारीमा कोदो, मकै र फापर प्रशस्तै उत्पादन हुन्छ तर, ती गाउँका बासिन्दाहरुले कोदो, मकै र फापर बेचेर चामल खरिद गर्ने गर्छन् ।

“हिजोआज गाउँ मै सडक आएको छ,” मालिका गाउँपालिका ७ बिमकी देउसरा जुग्जालीले भनिन्, “बारीमा फलेको कोदो, मकै, फापर र जौ किन्न गाउँ मै आउँछन् ।” जिल्लाको पहाडी क्षेत्रको पाखो तथा भिरालो जग्गामा उत्पादन हुने कोदो, मकै र फापर प्रायः बिक्री गर्ने र चामल किनेर खाने चलन बढेको छ । अधिकाँश वृद्धवृद्धाको अनुभवमा गाउँमा धेरै परिवर्तन आएको छ । उनीहरुका अनुसार गाउँका पुराना चलन हराउँदै गएका छन् ।

गाउँमै सडक पुगेको छ । गाउँ र शहरको दूरी छोटो भएको छ । शहरमा पाइने हरेक कुरा गाउँमै पाइन्छ । “केही वर्ष अघिसम्म गाउँमा मुखियाको घरमा रेडियो सुन्ने चलन थियो,”’ बिमका ८३ वर्षिय ढकवहादुर जुग्जालीले भने– “अहिले घरमै टेलिभिजन हेरिन्छ । देश विदेशमा कहाँ के भयो सबै कुरा ओच्छ्यानमा सुती सुती थाहा पाइने भएछ ।” रासस

प्रतिक्रिया दिनुहोस्