वैशाख २२, डोटी । एक वर्षदेखि कृषि तथा पशुपालन क्षेत्रमा स्थानीयवासीको हौसला बढाउन जोरायल गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा निकै लगानी गर्न थालेको छ ।
किसानलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन उक्त गाउँपालिकाले आप्mनो क्षेत्रमा रहेका किसानलाई कृषि क्षेत्रमा बढी लगानी गर्र्न थालेको हो । उक्त गाउँपालिकाले पछिल्लो समय किसानलाई सहुलियत दरमा उन्नत जातका गाई, बोयर जातका बोका, विभिन्न बीउबिजन वितरण गर्दै आएको छ ।
स्थानीय बाख्रामा नश्ल सुधार गरी ५० प्रतिशत बोयर बाख्रा उत्पादन गर्ने उद्देश्यले शतप्रतिशत शुद्ध बोयर बोका वितरण गरिएको जोरायल गाउँपालिकाले जनाएको छ । जोरायल गाउँपालिका पशु सेवा शाखा प्रमुख मानबहादुर रानाले भने, “अन्य जातका बोकाभन्दा बोयर जातको बोकामा मासु पनि बढी हुने र चाँडो नै फष्टाउने भएकाले हामीले यहाँको किसान समूहलाई बोयर जातको बोका दिएका हौँ ।”
बाख्रापालक किसानको आयआर्जन बढाउने उद्देश्यका साथ खोर सुधारका लागि २० जना किसानलाई पाँच हजारका दरले अनुदान दिने कार्यक्रम समेत रहेको प्रमुख रानाले बताए ।
सुदूरपश्चिमभरिमा शतप्रतिशत शुद्ध बोयर बोका बुढीतोलाको कृषि विकास बाख्रापालन फार्ममा मात्रै पाउने गरेको बताइएको छ । अष्टे«लियाबाट ल्याइएका शतप्रतिशत शुद्ध बोयर बोका र त्यहाँका बाख्राबाट जन्मेका बोयर बोकाका पाठापाठी बुढीतोलामा किन्न पाइन्छन् ।
जिल्लामा शुद्ध बोयर बोकाको मासुको मूल्यप्रति केजी एक हजार जिउँदै बिक्री भइरहेको छ भने अन्य जातका बाख्रासँग क्रस गराइएका ५० प्रतिशत शुद्ध बोयर बोकाको प्रति केजी ८०० प्रति पर्ने गरेको दिपायल पिपल्लाका मासु व्यवसायी शमिर विष्टले बताए । जोरायल गाउँपालिका–१ घण्टेश्वर र वडा नं २ छतिवनका केही ठाउँमा एक दशक पहिलेदेखि बोयर बोकाबाट नश्ल सुधार गरेर बाख्रापालन भइरहेको छ । रासस




प्रतिक्रिया