१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निस्दीका गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती



वैशाख २०, रामपुर । पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ । निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन् ।

निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर सुनारीले बताए ।

जिल्ला कृषि विकास कार्यालय पाल्पामा विसं २०६४ मा जनसुधार आइपिएम कृषक पाठशाला दर्ता गरेर सूर्यमुखी खेती थालिएको बताएका छन् । परम्परागत मकैखेतीबाट सोचेजति आम्दानी लिन नसकेकाले सूर्यमुखीको परीक्षणस्वरुप पहिलोपटक खेती गरिएको धनबहादुर ठाडाले बताए ।

समुद्री सतहदेखि करीब एक हजार ५०० मिटर उचाइमा रहेको क्षेत्रमा किसानले अहिले पहिलोपटक सुर्यमुखी खेती गरेका हुन् । यसअघि परम्परागत ढङ्गबाट मकैखेती तथा केही तरकारी खेती गर्दै आएका थिए ।

बढी उत्पादन लिन हाइब्रिड सूर्यमुखी खेती गर्न लागेको आइपिएम कृषक पाठशालाका अध्यक्ष मीनबहादुर सुनारीले जानकारी दिए । स्वास्थ्यका हिसाबले पनि सूर्यमुखीबाट उत्पादन हुने तेल फाइदाजनक मानिने उनको भनाइ छ ।

यसपालि सूर्यमुखी खेतीको राम्रो उत्पादन लिनसके मित्याल क्षेत्रलाई सुर्यमुखीको पकेट क्षेत्रका रूपमा समेत विकास गर्ने कृषकको लक्ष्य छ । सूर्यमुखी उत्पादन भएपछि यसको बिक्री तथा तेल व्यवस्थापनका निम्ति सहयोग गर्ने निस्दी गाउँपालिका कृषि शाखा संयोजक नवराज घिमिरेले बताए । कृषि शाखाले सूर्यमुखीमा लाग्ने रोग किरा नियन्त्रणमा सहयोग गर्दै आएको शाखाले यसको बिक्री व्यवस्थापनमा समेत सहयोग गर्ने बताएपछि कृषक उत्साहित भएका छन् । रासस

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार ००:००