१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्दननाथ नगरपालिकाः सुरक्षित सुत्केरी अभियान



वैशाख १९, जुम्ला । चन्दननाथ नगरपालिकाले सुरक्षित रुपमा सुत्केरी गराउन जनचेतना अभियान सुरु गरेको छ । नगरपालिकाले अस्पतालमै सुत्केरी गराउनुपर्ने, चार पटक गर्भजाँच गर्ने र संस्थागत स्वास्थ्यकर्मीको सल्लाह सुझावका लागि जनचेतना अभियान शुरु गरेको हो ।

चन्दननाथ नगरपालिकाको आयोजना र ब्रेक थ्रो एक्सनको सहयोगमा संस्थागत सुत्केरीका विषयमा अभियान सञ्चालन गरिएको हो । गर्भवतीको भेला, गर्भवती परीक्षण, सरसफाइ, जन्मान्तर, परिवार नियोजनसम्बन्धी जानकारी गराउँदै सचेतना अभियान थालिएको चन्दननाथ नगरपालिकाका नायबसुब्बा लक्ष्मीचन्द्र न्यौपानेले बताए ।

तालीम स्वास्थ्यचौकी इन्चार्ज नरेन्द्रबहादुर धरालाले यो अभियान निकै राम्रो भएको र अहिले गर्भवती जाँच तथा स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनेको सङ्ख्या वृद्धि भएको बताए । गर्भवती जाँच तथा संस्थागत सुत्केरी बढाउँदै कार्यक्रम प्रभावकारी बनाउन आमा समूह बैठक, घरदैलो भेटघाट, गर्भवती भेला निरन्तर गरिने उनले बताए ।

घरमा सुत्केरी हुँदा आमा तथा नवजात शिशुको स्वास्थ्य जोखिम नहोस् भनेर गर्भवतीलाई संस्थागत सुत्केरी हुन प्रेरित गर्न स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको सक्रियतालाई बढाइएको इन्चार्ज धरालाले बताए ।

गर्भवतीलाई स्वास्थ्य सामग्री

नगरपालिका वडाभरिका ५० गर्भवती महिलालाई सरसफाइका सामग्री वितरण गरिएको छ । बुहक्षेत्रीय पोषण कार्यक्रमको सहयोग र नगरपालिकाको समन्वयमा साबुन, नेलकटर, ब्रस, टुथपेस्ट लगायतका सामग्री वितरण गरिएको हो ।

गर्भवती महिलालाई सरसफाइमा सहयोग गर्ने उद्देश्यले सामग्री सहयोग गरिएको चन्दननाथ नगरपालिका जुम्लाका सरसफाइ सम्पर्क व्यक्तिसमेत रहेका न्यौपानेले जानकारी दिए । यसमा सुनौला हजार दिनभित्रका आमालाई समेत सरसफाइ सामान उपलब्ध गराइएको छ ।

प्लाष्टिकमुक्त नगर बनाइने

सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिकाले नगरक्षेत्रमा पलाष्टिकका झोला प्रयोगमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकबाट निर्णय गरी प्लाष्टिक झोला प्रयोगमा रोक लगाउने भएको हो ।

प्लाष्टिकजन्य वस्तुबाट बढी फोहर हुने यसले खेतीयोग्य जमीन मिसिएर उत्पादनमा ह्रास ल्याउने भएकाले पनि प्लाष्टिक झोला प्रयोगमा बन्देज गर्ने योजना नगरपालिकाले अघि सारेको हो । नगरप्रमुख कान्तिका सेजुवालका अनुसार नगरपालिकाको लोगोसहित जुटका झोला प्रयोगमा ल्याउने र प्लाष्टिकका झोला प्रयोगमा नल्याउने भएको हो ।

उनले भने, “नगरपालिकाले छ क्विन्टल जुटका झोला उत्पादन गरेको छ, अब सबै उपभोक्ताले बजार सामान किनमेल गर्दा होस् या व्यापारीले सामान बिक्री गर्ने क्रममा होस् यिनै झोला प्रयोग गर्नेछन् । “प्लाष्टिकमुक्त नगर बनाउनका लागि यसै हप्ताबाट यो योजना सञ्चालनमा ल्याउँदैछौँ”, उनले भने, “अब सबै नगरवासीले जुटको झोला नै प्रयोग गर्नुपर्छ ।”

नगरक्षेत्रभित्रका सबै व्यापारीलाई मौज्दात रहेका प्लाष्टिक झोलालाई व्यवस्थापन गर्न समेत नगरपालिकाले आग्रह गरेको छ । प्लाष्टिकका झोला नकुहिने, माटोको गुणस्तर घटाउने, प्रदूषण बढाउने र मानव स्वास्थ्यमा असर पार्ने भएपछि यस्तो निर्णय गरिएको नगरप्रमुख सेजुवालले बताए ।

प्लाष्टिकमुक्त नगर कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि वडास्तरीय प्लाष्टिकका झोला, प्लाष्टिकजन्य वस्तुको प्रयोगबाट उत्पन्न हुने समस्याको पहिचान तथा समाधानसम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार ००:००