७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण गाउँपालिकाः पाउद्वार–किन्दु सडक निर्माण



वैशाख १९, म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ स्थित पाउद्वारदेखि किन्दुसम्म सडक निर्माण गरिएको छ । उक्त गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्वारदेखि शुरु गरिएको सडक यसपालि झारवाङ हुँदै किन्दुसम्म पु¥याइएको हो ।

पाउद्वार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिरक्षेत्रमा ट्र्याक खोलिएपछि पाउद्वार किन्दु सिधा सडक सञ्जालमा जोडिएको वडासदस्य राजेश तिलिजाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले दुई चरणमा विनियोजन गरेको २२ लाख अनुदान सहयोगमा भिरमा ७५० मिटर लामो सडकको ट्र्याक निर्माण गरिएको हो ।

गत वर्ष गाउँपालिकाले विनियोजन गरेको पाँच लाखबाट पाउद्वारदेखि सेते प्लेटको भिरसम्म सडक पु¥याइएको थियो । वडासदस्य तिलिजाका अनुसार पाउद्वारदेखि किन्दुसम्म जोड्ने सडकको दूरी पाँच किलोमिटर छ । सडक निर्माण भएपछि नेपाने, पाउद्वार, झारवाङ, किन्दु, स्वाँता, घोस्केखोर, फलाते र चित्रेका बासिन्दालाई सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष टीकाराम तिलिजाले बताए ।

हाल प्रयोगमा रहेको सडकभन्दा यो सडक छोटो भएकाले यस सडकलाई पोखरेबगर–घार–शिख–चित्रे सडकको वैकल्पिक मानिएको अध्यक्ष तिलिजाले उल्लेख गरे । स्थानीयवासीलाई आवतजावतका साथै गाउँमा उत्पादन भएको आलुलगायत कृषि उपज निकासी, निर्माण र खाद्यान्न सामग्री ढुवानीमा सहज भएको छ । साबिकको शिख र घार गाविसलाई समेटेको यो सडक गाउँपालिकाको केन्द्र पोखरेबगर जोड्ने चक्रपथसमेत बनेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

उनले पूर्वाधार विकास कार्यालयमार्फत शिखको स्वाँतामा मोटर चल्ने पुल निर्माणाधीन अवस्थामा रहेको र घारखोलामा अर्को मोटर चल्ने पुल बनाउन पहल गरिएको बताए । सडक विस्तारमा घुम्ती र ग्रेड सुधार गरेर बाह्रै महीना नियमित सवारी साधन सञ्चालन गर्ने बनाउन गाउँपालिकाबाट थप बजेट उपलब्ध गराउने प्रतिबद्धता अध्यक्ष पुनले गरे । पाउद्वारका बासिन्दाको पहलमा तीन वर्षअघि पोखरेबगरदेखि पाउद्वार जोड्ने नौ किलोमिटर सडक निर्माण भएको थियो । रासस

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार ००:००