Logo

बाँकेको खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण शुरु



वैशाख १७, राँझा । नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण कार्य शुरु भएको छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम शुरु भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

सङ्घीय सरकारको ३४ करोडको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले आइतबारबाट चार लेन सडक निर्माण शुरु गरेको हो । पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको १८०० मिटर लम्बाइको चार लेन सडक डेढ वर्षभित्र सक्ने योजना छ । “चार लेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरिने भएको छ”, सडक विस्तार कार्यले खजुरावासी उत्साहित छन्”, अध्यक्ष कक्षपतिले भने ।

क्रमागत रुपमा बजेट थप्ने गरी केन्द्रीय सरकारको योजनाअन्तर्गत निर्माण शुरु भएको हो । नेपालगञ्जदेखि बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक नै विस्तार गरी चार लेन बनाउने योजना रहे पनि पहिलो चरणमा खजुरा बजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियादेखि भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने कार्य शुरु भएको खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले जानकारी दिए ।

केन्द्रीय सरकारको योजना भए पनि खजुरा गाउँपालिकाको मुख्य बजार क्षेत्र लगायत मुख्य सडक भएकाले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग समन्वय गरिरहेको उनको भनाइ छ । बाँकेको खजुरा गाउँपालिकाले यो आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गर्नेगरी निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

चालू आर्थिक वर्ष २०७५÷७६ भित्रै निर्माण कार्य सम्पन्न हुने गरी ठेक्का प्रक्रिया भइसकेको गाउँपालिकाका अध्यक्ष कक्षपतिले बताए । “गाउँपालिकाभित्रका महत्वपूर्ण सबै सडक विस्तार र कालोपत्र गर्ने काम धमाधम अगाडि बढेको छ”, अध्यक्ष कक्षपतिले भने, “गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा हामी यो वर्ष १५ किलोमिटर सडक कालोपत्र गर्नेछौँ ।”

गाउँपालिका, प्रदेश सरकार, सांसद विकास कोष र सङ्घीय सरकार समपूरक कोषको १५ करोड बजेटमा सडक निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनीयर कञ्चन तिवारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्