१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आवास कार्यक्रमः २४ करोड सकियो, गरीबको पीडा उस्तै



काशीराम शर्मा

वैशाख १७, बाँके । जनता आवास कार्यक्रमले बाँके र बर्दियामा लक्षितवर्गका लागि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा जनता आवासले काम थालेको दुई वर्ष पूरा भइसकेको छ । यसअवधिमा बाँकेका विभिन्न स्थानमा केही घर पनि निर्माण भएका छन् ।

लक्षितवर्गका नाममा जनता आवासले आफनो दातृ निकायबाट अर्बौँ बजेट अनुदान ल्याएर थोरै लगानीमा बनाएका घर बस्न योग्य भने देखिँदैनन् । कतिपय लक्षितवर्गका घर अहिले पनि निर्माण हुनसकेका छैनन् । निर्माण भएका पनि प्रयोग गर्न सकिने अवस्थामा देखिँदैनन् । कतिपय लक्षितवर्गले अनुदानको पाउनुपर्ने रकम नपाउँदा समस्या झेल्नुपरेको छ ।

कार्यक्रमअन्तर्गत घर निर्माण रोकिएपछि बाँकेको इन्द्रपुरमा बसोबास गर्दै आएका कुछबधिया र बेलासपुरमा रहेका चिडिमार समुदायका गरीब तथा विपन्न परिवार समस्यामा परेका छन् । लोपोन्मुख कुछबधिया सुमदायले जाँतो, सिलौटो, सनपाटको डोरी बेचेर जीविकोपार्जन गर्दै आएका छन् ।

बेलासपुरमा रहेको चिडिमार बस्तीका कतिपय विपन्न तथा लोपोन्मुख परिवारको सरकारी घरमा बस्ने सपना अहिले पनि पूरा हुनसकेको छैन । बेलासपुरको चिडिमार बस्तीमा सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाउने भने पनि अहिलेसम्म घर बन्न नसकेको स्थानीयको भनाइ छ । गत वर्ष घर निर्माणका लागि काम शुरू गरिएको थियो ।

तर, अन्तिम किस्ता रकम नपाउँदा उजागर रैदासले आफ्नो घरको छानो छाउनसमेत नसकेको बताएका छन् । रैदासजस्तै बाँके र बर्दियामा धेरै विपन्न परिवार जनता आवासकै लापरवाही र उदासीनताका कारण बिचल्लीमा छन् । घर निर्माणको काम अधुरो हुँदा चिसो मौसममा खुला आकाशमुनि र गर्मीमा तातो घाममुनि दिनरात काट्नुको विकल्प नभएको रैदासको भनाइ छ ।

“छाना छाउने कर्कटपाता किन्न पैसा छैन”, उनले भने, “यस्तो गर्मी छ खुला आकाशमुनि कसरी ज्यान बचाउनु ।” उनी जस्ता चिडिमार बस्तीका धेरै परिवारको सरकारी घरमा बस्ने आश मरेको छ । महादी चिडिमारको समस्या पनि उस्तै छ । उनलाई पनि बिहानबेलुकाको छाक टार्न मुस्किल छ । “ज्याला मजदुरी गरेर कमाएको पैसाले परिवार पाल्नु कि घर बनाउनु ?” उनले दुखेसो पोखे ।

जनता आवास कार्यक्रमअन्तर्गत सरकारले बनाइदिने भनेको पक्की घरमा बस्ने सपना देखेका बाँके र बर्दियाका विपन्न, दलित, लोपोन्मुख र अति सीमान्तकृत समुदायको घर निर्माणको काम जनता आवासकै कारण अलपत्र परेका छन् । लक्षित वर्गकै नाममा वा घर निर्माण गर्ने लक्ष्यका साथ जनता आवासले बाँके बर्दियामा २४ करोड बढी रकम खर्च गरिसकेको छ ।

उक्त रकम कहाँ, कसरी, किन र कसका लागि खर्च भयो, यसको कुनै लेखाजोखा छैन । यद्यपि ती घर निर्माण गरेवापत २४ करोड रकम खर्च भएको शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जका प्रमुख होमनाथ भुसाल बताउछन् । उनका अनुसार गत आर्थिक वर्ष २०७४÷७५ मा दुवै जिल्लामा थप एक एक हजार घर निर्माण गर्ने भनिएको थियो ।

तर, बजेट निकासा नै नभएका कारण प्रक्रिया अघि बढ्न सकेन । गरीब परिवारलाई घर दिने उद्देश्यले थालिएको जनता आवास कार्यक्रम अलपत्र परेको छ । सङ्घीय सरकारले थालेको कार्यक्रम प्रदेशमा हस्तान्तरण भएपछि २०७५ साउनदेखि जनता आवासको काम ठप्प छ । आर्थिक वर्ष २०७३÷७४ मा बाँकेमा एक हजार २० र बर्दियामा एक हजार ३० घर निर्माण गर्नुपर्ने थियो ।

जसमध्ये गत आर्थिक वर्ष २०७४÷७५ मा बाँकेमा ४०० र बर्दियामा ८०० घर जेनतेन निर्माण भएका छन् । तर, यी सबै घर बस्न योग्य भने देखिँदैनन् । कुछबधिया समुदायका अगुवा पटवारी कुछबधियाका अनुसार इन्द्रपुरको कुधबधिया टोलमा ४६ घर छन् । तीमध्ये १६ परिवारले जनता आवास कार्यक्रममार्फत घर बनाएका छन् । तर, ३० परिवारले अझै घर बनाउन सहयोग पाएका छैनन् ।

सरकारले जनता आवास कार्यक्रममार्फत तराईका विपन्न मुसहर, चमार, मुस्लिम तथा पहाडमा दलित समुदायका दमाई, कामी, सार्कीका साथै लोपोन्मुख, सीमान्तकृत कुसुन्डा, राउटे लगायतका जातिलाई सुरक्षित घर बनाउन तीन किस्तामा गरी साढे ३ लाख अनुदान दिँदै आएको भुसालको भनाइ छ । जनता आवासको सहयोगमा बन्ने घर कम्तीमा दुई कोठाको, भूकम्पप्रतिरोधी हुनुपर्ने प्रावधान छ । रासस

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार ००:००