१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुलिखेल नगरपालिकाः सुरक्षित खानेपानी युक्त समुदाय घोषित



वैशाख १७, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको दुई वडाको समुदायलाई ‘सुरक्षित खानेपानी युक्त समुदाय’ घोषणा गरिएको छ । नेपाल सरकार, धुलिखेल नगरपालिका, फिनल्याण्ड सरकार, युनिसेफ नेपाल र सिविक फोरमको सहयोगमा धुलिखेल १ स्थित छाँगे र ११ को धिताल टोललाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

सरकारको दिगो विकास लक्ष्य ९एसडिजी० अन्तर्गत सबै नेपालीलाई सन् २०३० सम्म सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्यसहित धुलिखेल नपाका दुई समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरी अभियानको शुरुआत गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले बताए ।

उनले छाँगे र धितालटोलमा ‘एक घर, एक धारा’ व्यवस्थित गरिएको बताए । नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका ब्याञ्जुले भने, ‘धुलिखेलमा एक घर, एक धारा कार्यक्रम अन्तर्गत आउँदो तीन वर्षमा सबै नगरवासीलाई खानेपानी उपलब्ध गराउँछौँ ।” कार्यक्रमअन्तर्गत छाँगेका ३० परिवार र धितालटोलका २० घरमा धाराबाट सुरक्षित खानेपानी वितरण गरिएको छ ।

दिगो विकास लक्ष्यअन्तर्गत ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्न सम्पूर्ण समुदायलाई सम्मिलित गरी सुरक्षित खानेपानी योजना कार्यान्वयन गर्नुपर्ने, समुदाय खुला दिसामुक्त भएको, खानेपानीका स्रोतमा जनावर तथा मानिसको आवतजावत नहुने, सबैले सुधारिएको खानेपानीको स्रोत प्रयोग गरेको तथा खानेपानी सुरक्षितरुपमा भण्डारण गरेको हुनुपर्ने लगायतका सूचक सुनिश्चत हुनपर्ने उद्देश्य राखिएको छ । ‘ई कोली’ नामक जिवाणुको सङ्क्रमण नभएको, आर्सेनिक र फ्लोराइडको सङ्क्रमण नभएको लगायतका मापदण्ड पूरा भएपछि मात्रै सरकारले ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्न सक्नेछ ।

सोही मापदण्ड पूरा गरेका धुलिखेलका दुई समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । कार्यक्रममा खानेपानी तथा ढल निकासका उपनिर्देशक मिना श्रेष्ठले खुला दिसामुक्त क्षेत्रको ९९ प्रतिशत काम सकिएको र दिगो विकास लक्ष्यमा पुग्न नयाँ तथा पुराना खानेपानी योजना सुरक्षित बनाउनुपर्ने बताइन् ।

फिनल्याण्ड दूतावासका यारी लुक्काले नेपालका सबै खानेपानी आयोजना सुरक्षित बनाइनुपर्ने बताए । युनिसेफका खानेपानी तथा सरसफाइ विभाग प्रमुख डा तमिज अहमतले नेपालमा खुला दिशामुक्त क्षेत्रपछि सुरक्षित खानेपानी कार्यक्रम सञ्चालन गरेकामा खुशी व्यक्त गरे । रासस

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार ००:००