१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलकीका बासिन्दाका दुःखका दिन अन्त्य



राजेन्द्रप्रसाद पनेरु

वैशाख १३, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन ।

ऋण लिनका लागि सिफारिस र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला विनाझन्झट ऋण पाइने गरेको छ । गाँउमै गठन गरिएको इटाहा सामुदायिक विपत् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि सहजरूपमा ऋण पाउन थालेका छन् ।

न्यून ब्याजमा सहजरूपमा ऋण पाइन थालेपछि समितिमा आबद्ध सदस्यले आयआर्जनका कार्यक्रम सञ्चालन गर्न थालेका छन् । समितिमा ६२ वटा नदीको उच्च जोखिममा रहेका परिवार आबद्ध छन् । आबद्ध सदस्यको समितिमा पाँच लाख बचत रहेको छ । नदीको बगर संरक्षण गरी समितिमा आबद्ध २७ सदस्यले नौ बिघामा उखुखेती गरेका छन् ।

मल र बीउ खरीदका लागि सबैले समितिबाट ३० हजारदेखि ५० हजार आवश्यकताका आधारमा ऋण लिएका छन् । गत वर्ष समितिमा आबद्ध सदस्यले चार बिघा जग्गामा उखुखेती गरी एक हजार ४०० क्विन्टल उखु उत्पादन गरेका थिए । जुन पाँच लाख ५५ हजारमा बिक्री भएको थियो । बिक्रीको १० प्रतिशत रकम समितिको आपतकालीन कोषमा जम्मा गरी बाँकी रकम समितिका सदस्यले आम्दानीका रुपमा राखेको समितिमा आवद्ध भङ्गीरानाले बताए ।

खेर गएको बगर संरक्षण गरी प्रतिवर्ष समितिमा आबद्ध सदस्यले उखुखेती गरी एक लाखदेखि एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । “दोदा र वनहरा नदीले जग्गा कटान गरी बगाउँदै आएको थियो”, जगतबहादुर रानाले भने, “बालुवानै बालुवाले भरिएको बगरमा घाँस रोपेर संरक्षण ग¥यौँ, त्यसपछि बगरमा नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको सहयोगमा समिति गठन गरी उखु रोपेपछि आम्दानी हुन थालेको छ । आम्दानीसँगै नदीले जग्गा कटान गर्न छाडेपछि सुरक्षित तरिकाले बस्न सकेका छौँ ।”

नदीले जग्गा कटान गरेपछि नौ वर्षअघि विस्थापनमा परेका १७ परिवार बाढीपीडित बगर संरक्षण भई नदीको जोखिम कम भएपछि पुनः पुरानै ठाउँमा फर्केर उखुखेतीमा संलग्न भएका छन् । उखु रोप्ने, हेरचाह गर्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने र मिलमा लगेर बिक्री गर्ने कार्य समितिका सदस्यले पालो मिलाएर गर्दै आएका छन् । जसबाट समय र श्रमको बचत भई सामूहिक कार्य गर्ने बानीले समाजमा मिलेर कार्य गर्ने हौसलासमेत थपिन थालेको स्थानीयवासीको भनाइ छ ।

केरा खेती

कृषि ज्ञान केन्द्रको सहयोगमा समितिमा आबद्ध २७ ले पाँच बिघा जग्गामा केरा खेती गरेका छन् । कृषि ज्ञान केन्द्रले समितिमा आबद्धलाई सिँचाइका लागि विद्युतीय मोटर जडान, मल र केराका बिरुवा खरीदका लागि चार लाख ३० हजार अनुदान रकम प्रदान गरेको छ । पाँच बिघा खेतमा आठ हजार केराका बिरुवा रोपिएका छन् ।

जडीबुटी प्रशोधन केन्द्र

इटाहा सामुदायिक विपत् व्यवस्थापन समितिका सदस्यको आर्थिक अवस्थामा सुधार ल्याउन दातृ निकायको सहयोगमा जडीबुटी प्रशोधन केन्द्रसमेत स्थापना गरिएको छ । समितिमा आबद्ध १७ घरधुरीका बासिन्दा केन्द्रमा आबद्ध छन् । आबद्ध सदस्यले तीन बिघा जग्गामा केमोमाइल नामक जडीबुटी खेती गरी पाँच किलो तेल उत्पादन गरेका छन् ।

जसको बजार मूल्य दुई लाख ५० हजार रहेको छ । आपतकालीन कोषको चार लाख ३८ हजार ७५० रकम खर्चेर समितिका सदस्यले जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि जग्गा खरीद गरेका थिए ।

सुत्केरी हुने महिलालाई यातायात खर्च

समितिमा आबद्ध सदस्यका महिला गर्भवती भई प्रसूतिका लागि अस्पताल लैजान पाँच हजार विनाब्याज रकम उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । आपतकालीनरूपमा जुनसुकै बेला पनि सुत्केरी हुने महिलालाई रकम उपलव्ध गराउने व्यवस्था मिलाइएको समितिका सचिवसमेत रहेका मङ्गलप्रसाद चौधरीले बताए । यस वर्ष पाँच सुत्केरी हुने महिलालाई सो रकम प्रदान गरिएको छ । सुत्केरी भएर घर फर्केको निश्चित समयपछि आपतकालीन कोषबाट लिएको रकम फिर्ता भने गर्नुपर्ने नियम बनाइएको छ ।

यसैगरी, वैदेशिक रोजगारीमा जाने युवालाई समेत ५० हजारसम्म कोषबाट ऋणका रुपमा रकम उपलब्ध गराइँदै आएको रामआश्रय रानाले बताए । हालसम्म २५ बढी युवा कोषबाट रकम लिएर वैदेशिक रोजगारीमा गएका छन् । रासस

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार ००:००