२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेप्सीकोला सल्लाघारी सडकः दुई वर्षमा १२ प्रतिशत काम



चैत २६, काठमाडौं । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताएको छ ।

बाहखा बजारबाट सल्लाघारीतर्फका घर भत्काउनुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण नसकिएको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले सडक खाली गराउनुपर्ने भए पनि गर्न सकेको छैन । उनले भने, “स्थानीयवासीले घरको मात्रै नभएर जग्गाको समेत मुआब्जा माग गरिरहेकाले काममा अवरोध पुगेको हो ।”

नेपाल सरकारको जग्गाको मुआब्जा दिने व्यवस्था नहुँदा काम अघि बढ्न नसकेको इञ्जिनीयर श्रेष्ठले बताए । मुआब्जा विवादका कारण अवरुद्ध सडक निर्माण अघि बढाउन जनप्रतिनिधिले पहल गरे पनि प्रगति नभएको उनको भनाइ छ । स्थानीयवासीले सङ्गठितरूपमा मुआब्जाको माग गरिरहेका छन् । सडक निर्माण ढिलाइमा ठेकेदारको गल्ती नभएको उनले बताए । उनले भने, “हामी आफैँले नै काम गर्ने ‘साइट’ खाली गरिदिन सकेका छैनौँ ।”

चार दशमलव पाँच किलोमिटर लम्बाइको यो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो । ठेक्का अवधि आगामी पुसमा सकिँदैछ । सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभिले लिएको थियो ।

काठमाडौं उपत्यकामा आयोजनाबाट ११ वटा सडक विस्तारको काम शुरु भए पनि कामले गति लिन सकेको छैन । काठमाडौं र ललितपुर जिल्लाका पाँच–पाँच र भक्तपुर जिल्लाको एउटा आयोजना शुरु भए पनि भौतिक प्रगति कम छ । रासस

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार ००:००