१५ मंसिर २०८२, आइतबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दी नदीमा मोटरेबल पुल निर्माण शुरु



चैत २२, म्याग्दी । मङ्गला गाउँपालिकाको बरञ्जा र अर्मनलाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण शुरु भएको छ ।

सडक डिभिजन कार्यालय बागलुङले मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको मसानघाट तथा बेनी नगरपालिका–४ फापरखेतदेखि मङ्गला गाउँपालिका–३ पखेर जोड्ने पक्की मोटरेबल पुल बनाउन लागेको हो ।

यो पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरञ्जा र अर्मन सिधा सडक सञ्जालमा जोडिने मङ्गला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताए । यो पुल ४० ४० मिटरको डबल स्पाम भएको बन्नेछ ।

८० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्न लागिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनीयर मकुन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो । फापरखेत–पखेर जोड्ने पुलको लम्बाइ ११७ मिटर र चौडाइ ११ मिटर छ ।

यो पुलमा चार वटा पिल्लर हुनेछन् । दुई वटै पुल बनाउन लुम्बिनी प्राकृतिक जेभीले ठेक्का लिएको छ । फापरखेत–पखेरको दश करोड ७२ लाख र माटेबगर–मसानघाटको ११ करोड २४ लाख २५ हजारमा ठेक्का सम्झौता भएको छ । २०७५ पुस २५ गते सम्झौता भएको दुवै पुल २०७७ साल पुस २५ मा सम्पन्न गर्ने लक्ष्य छ ।

पुल निर्माण भएपछि मङ्गला गाउँपालिकाको अर्मन, बरञ्जाका साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दालाई सुविधा पुग्ने मङ्गला–३ का वडाध्यक्ष कवीन्द्र रोकाले बताए । अर्मन र बरञ्जामा सडक निर्माण भए पनि मोटरेबल पुल नहुँदा स्थानीयवासी यातायात सुविधाबाट वञ्चित थिए । रासस

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार ००:००