१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नियमित उडान नहुँदा हुम्लाका यात्रुलाई सास्ती



चैत १८, सुर्खेत । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एकमात्र जिल्ला हुम्लाका नागरिकले अनियमित हवाई उडानका कारण पटकपटक सास्ती खेप्दै आइरहेका छन् ।

यसपटक पनि हुम्लाका दर्जनौँ नागरिक सुर्खेत विमानस्थलमा अलपत्र छन् । बिरामी तथा विभिन्न कामले सुर्खेत झरेका १ सय ४० भन्दा बढी हुम्लका नागरिक कयौं दिनदेखि अलपत्र परेको यात्रु छवि थापाले बताए । “विमानस्थलमा हामी सामान्य मान्छेले छिर्नै पाउँदैनौँ,” थापाले भने, “टर्मिनल हलमा ठूलाबडाकै हालीमुहाली हुन्छ ।”

यात्रु केन्द्रराज शाहीले विमानस्थलमा सर्वसाधारणले टिकट नपाएको गुनासो गरे । दलालले मात्र भित्र प्रवेश पाउने गरेको आरोप लगाउँदै शाहीले भने “एयरलायन्स नागरिकप्रति सेवा भाव नै देखाउँदैनन् । उनीहरु आफ्नो नाफाको आँखाबाट मात्र हेर्छन् ।” यात्रुभन्दा कार्गोमा दोब्बर फाइदा हुने भएकाले हवाईजहाजले यात्रु नबोकेको शाहीको आरोप छ ।

हुम्ली सेवा समाजका अध्यक्ष कलबहादुर लामाले यात्रुलाई प्राथमिकतामा राखेर काम गर्न एयरलायन्स सञ्चालकलाई दबाब दिँदै आएको दाबी गरे । “डेढ महीनादेखि यात्रु उड्न पाएका छैनन्,” लामाले भने, “हामीले तारा, सीता र समिट एयरलायन्सका सञ्चालकलाई हप्तामा एक÷एक फ्लाइट राख्न अनुरोध गरेका छौँ ।”

हवाइजहाज यातायातको एकमात्र विकल्प भएको हुम्लामा हरेक सामान उडानबाटै लैजानुपर्ने भएकाले यात्रुको उडानमा समस्या भएको लामाले बताए ।

विमानस्थलमा प्रहरीले पनि आफूहरू प्रति अभद्र व्यवहार गर्दै आएको यात्रुहरूले गुनासो गरेका छन् । विकट भूगोलका नागरिक अलपत्र पर्दा पनि राज्य बेखबर रहेको उनीहरूको गुनासो छ ।

यता तारा एयरलायन्सका नेपालगञ्ज प्रमुख दिलीप कार्कीले हवाइजहाज अभावका कारण समस्या भएको बताउँछन् । “जहाजको माग बढ्दो छ तर पूर्ति गर्न गाह्रो छ,” कार्कीले भने, “हप्ताको एउटा कार्गो पनि गर्न सकिएको छैन ।” रासस

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार ००:००