चैत ८, परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ताले आफूले पाउने सरकारी सुविधावापतको रकम गाउँका अति विपन्न परिवारलाई काजकिरियाका लागि सहयोग गरेका छन् ।
उनले सोही गाउँपालिका–३ का मोहन हरिजनको मृत्यु भएपछि उनको परिवारलाई काजकिरियाका लागि आवश्यक खाद्यन्न लगायतका सामग्री सहयोग गरेका हुन् । मोहन हरिजन स्थानीय मन्दिरमा पूजारी थिए । त्यहीँबाट उनको गुजारा चल्ने गरेको थियो । तर कमाएर खुवाउने परिवारका मूख्य व्यक्तिकै निधन भएपछि हरिजनको परिवारलाई काजकिरिया गर्न समेत धौधौ परेको थियो ।
काजकिरीयालाई सहज बनाउन गाउँपालिका अध्यक्ष गुप्ताले शुक्रबार बिहान हरिजनकी श्रीमती रामरती हरिजनलाई चामल, पिठो, चिनी, आलु तरकारी, गिलास लगायत गरी पन्ध्र हजार बढीको खाद्यन्न तथा सामग्री सहयोग गरे ।
गाउँपालिका अध्यक्ष गुप्ताले सरकारले आफूलाई दिएको सुविधावापतको रकम विपन्न परिवारलाई सहयोग गर्न पाउँदा अत्यन्त खुशी महशुस गरेको बताए । अध्यक्ष गुप्ताले शुरुदेखि नै विपन्न नागरिकलाई सहयोग गर्दै आएका छन् ।
यसअघि विपन्न अवस्थाका ईश महम्मदकी छोरी सवनम खातुनको विवाहका लागि आर्थिक समस्या भएपछि गाउँपालिका अध्यक्ष गुप्ताले व्यक्तिगत तीस हजार नगद सहयोग गरेपछि विवाह सहज रुपमा सम्पन्न भएको थियो ।
यसैगरी एकवर्षदेखि तलब नपाएका हरपुर माविका ६ जना शिक्षकलाई पनि गाउँपालिका अध्यक्ष गुप्ताले आफ्नै पहलमा तलबको व्यवस्था गरिदिएका थिए । गाउँपालिका अध्यक्षको सहयोगी भावनाले गाउँवासीले गाउँमै सरकार भएको अनुभव गर्न पाएको स्थानीय पशुपति गुप्ता बताउछन् । अध्यक्ष गुप्ताको कामलाई गाउँवासीले प्रशंसा गर्दै आएका छन् ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सेवा सुविधाको विषयलाई लिएर आलोचना हुँदै आएको बेला गुप्ताले भने सरकारले उपलब्ध गराएको सुविधाबाट विपन्न वर्गलाई सहयोग गर्दै आएका छन् । रासस





प्रतिक्रिया