६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाको पहलमा मातृभाषा कक्षा सञ्चालन, युवाको आर्कषण



चैत ८, बाग्लुङ । पुस्तान्तरण नहुँदा लोप हुने खतरा बढेपछि मगर भाषा संरक्षण प्रयास अघि बढाइएको छ । बडिगाड गाउँपालिकाले युवापुस्तालाई लक्षित गरेर निःशुल्क मगर भाषा कक्षा सञ्चालन गरेको हो । भाषा कक्षा चलाउन गाउँसभाले चालू आवमा रु २५ लाख बजेट छुट्याएको थियो ।

गत वैशाखदेखि शुरु भएको भाषा कक्षामा गाउँपालिकाका २२ मगर युवाले मातृभाषा सिकिरहेका छन् । “आफ्नो भाषा जोगाउनुपर्छ भन्ने सोचले पढ्न आएकी हुँ”, रणसिंहकिटेनीकी हिरा रानामगरले भनिन्, “सिकाइ उपलब्धिमूलक भइरहेको छ ।”

नेपालमा बोलिने तीन मगर भाषामध्ये गण्डकी प्रदेशमा प्रचलित ‘मगर ढूट’ भाषाको पढाइ भइरहेको प्रशिक्षक आशबहादुर थापा मगरले बताए । “प्रशिक्षार्थीले लेख्न, बोल्न र मगर भाषाको लिपिका बारेमा सिकिरहेका छन् ।” थापा मगरले भने । थापामगर भाषा सिकाउनकै लागि तनहुँदेखि बाग्लुङ आइपुगेका हुन् ।

प्रशिक्षार्थीले शुरुमा मगर भाषाको शब्दहरू सिकेपछि वाक्य बनाउन जानेका थिए । नेपाली बाह्रखरीलाई मगर भाषामा उल्था गर्दा छिटो सिकिएको प्रशिक्षार्थी राना मगरको अनुभव छ । लेख्न, पढ्नभन्दा भाषालाई बोलीचालीमा प्रयोग गर्न बढी गाह्रो हुने गरेको उनले बताए ।

मगर बाहुल्य बस्तीमै भाषा हराएपछि संरक्षण अभियान चलाउनुपरेको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताउनुभयो । “अहिले सिकिरहेका प्रशिक्षार्थीलाई योग्य बनाएर गाउँगाउँमा मगर भाषा सिकाउने योजना छ,” पाइजाले भने ।

आफ्नै भाषा, संस्कृति भएन भने समुदायको पहिचान नै गुम्ने पाइजाको भनाइ छ । बडिगाडमा मगर समुदायको बसोबास रहेपनि मगर भाषा बोलीचालीबाट हराएको छ ।

बडिगाड मात्रै नभएर जिल्लाका अधिकांश मगर बस्तीमा मगर भाषा प्रचलनमा छैन । बाउबाजेका पालादेखि नै मातृभाषा बोल्न छाडिएको मगर अगुवाहरु बताउँछन् । नयाँ पुस्तामा भाषाको ज्ञान हस्तान्तरण नहुँदा र अन्य भाषाको बढ्दो प्रभावले मगर भाषा सङ्कटमा परेको छ ।

जिल्लाको निसीखोला गाउँपालिकाका केही मगर बस्तीमा मात्र मगर खाम भाषा बोल्ने गरिन्छ । मगर ढूट भाषा तनहुँ, स्याङ्जा, लमजुङ, नवलपरासीलगायतका जिल्लामा बढी प्रचलित छ ।

मगर खाम भाषा रोल्पा, रुकुम, प्यूठानलगायतका जिल्लामा बोल्ने गरिन्छ । मगर काइके भाषा भने डोल्पा जिल्लामा मात्र प्रचलित छ । भाषा कक्षा यही चैत मसान्तमा सकिने गाउँपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ००:००