सुरेन कुँवर
चैत ८, रत्ननगर । दुई राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरी गाँउपालिकाले पर्यटन पूर्वाधार निर्माण गर्न शुरु गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जसँग जोडिएको यस गाउँपालिकाले यहाँको प्रकृतिक स्रोतसाधन प्रयोग गरी अम्दानी गर्ने उद्देश्यले यस वर्षदेखि पर्यटकीय गतिविधि बढाउन शुरु गरेको हो ।
यो सँगै वन्यजन्तु बस्ती प्रवेश गरी जनधनको क्षति भोग्दै आएका यहाँका स्थानीयवासीले अब पर्यटन व्यवसायबाट आम्दानी गर्न पाउने भएका छन् ।
हात्ती सफारीमार्फत पर्यटन प्रवर्द्धन गर्न पर्सा राष्ट्रिय निकुञ्जले अमलेखगञ्जमा रहेको हात्तीसारबाट दुई हात्ती गाउँपालिकालाई दिएपछि गाउँपालिका विभिन्न शीर्षकमा पर्यटन पूर्वाधार निर्माण गर्न बजेट छुट्याएर निर्माणकार्यमा लागेको छ ।
चालू आर्थिक वर्षमा गाउँपालिकाले निकुञ्जभित्र हात्ती तथा जिप सफारीका लागि तीन बाटो निर्माण गर्न २० लाख छुट्याएको गाउँपलिकाका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए । निर्माण हुने बाटोअन्तर्गत ठोरी गाउँपालिका–५ को गडुवा लाइन पोष्टदेखि रामबगरी भाठासम्म पूर्वी बाटो, वडा नं ४ को पानी ट्याङ्कीदेखि रामबगरी भाठा ९पश्चिम रुट० र चितवन राष्ट्रिय मध्यवर्ती क्षेत्रस्थित शिकारीबास वडा नं ४ वटा ठोरी वडा नं २ इच्छानगरसम्म अर्को १६ किमी बाटो मर्मत तथा निर्माण हुन लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
त्यस्तै हात्ती गोठ निर्माण गर्न पाँच लाख, पोखरी निर्माण गर्न दुई लाख र नेचरगाइड तालीमका लागि तीन लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकामा घरबास निर्माण गर्न पनि बजेट छुट्याइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
“अहिले हात्ती सफारी शुरु गरिसकेका छौँ” उनले भने, “जिप सफारीका लागि निजी क्षेत्रसँग छलफल भइरहेको छ, नयाँ आर्थिक वर्षमा सफारी शुरु हुने गरी बोलपत्र आह्वान गर्छौँ ।” अध्यक्ष श्रेष्ठले गाउँपालिकामा आन्तरिक, भारतीय र विदेशी पर्यटकलाई आकर्षित गर्न विभिन्न प्याकेजको व्यवस्था गरिने जानकारी दिए ।
“निकट भविष्यमा सौरहासँग पदमार्ग जोड्ने योजनामा छौँ” उनले भने, “यसो गर्दा पर्यटकको बसाइलाई लम्ब्याउन सकिन्छ, पदमार्गको सञ्जाल जोड्न गाउँपालिकाले त्यहाँका पर्यटन व्यवसायीसँग छलफल गर्नेछ ।” पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न निकुञ्जभित्र हात्ती सफारीका लागि गाउँपालिकालाई दुई हात्ती दिएर सहकार्य गरिएको बताए ।
“हात्तीलाई सफारी र चोरी शिकार नियन्त्रणका लागि गस्तीमा प्रयोग गरिन्छ” उनले भने, “पर्यटकको आवागमन बढे थप हात्ती उपलब्ध गराउँछौँ, पर्यटन प्रवर्द्धनमा हाम्रो सहयोग रहने छ ।”
घरबास धमाधम थपिँदै
पर्यटकका लागि सुविधासम्पन्न होटल नभएको ठोरीमा पछिल्लो समय घरबास ९होमस्टे० निर्माण हुने क्रम बढेको छ । पाँच वर्ष अघिसम्म यहाँ होमस्टे थिएन । अहिले तामाङ, गुरुङ र मगर जातिको आफ्नो संस्कृति अनुसार होमस्टेको निर्माण भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाभित्र हालसम्म ५० बढी होमस्टे रहेका छन् । दैनिक २०० पर्यटकलाई होमस्टेमा राख्न सकिन्छ । गाउँमा रहेका सामुदायिक होमस्टे अर्थात् घरबास कार्यक्रम थालिएपछि स्थानीय त्यसबाट प्रत्यक्ष लाभ लिन थालेका छन् । होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
अध्यक्ष श्रेष्ठ ठोरी गाउँपालिका–५ मा तामाङ समुदायले स्थानीयवासीको श्रमदानमा ‘कल्चर हाउस’ निर्माण भइरहेको जानकारी दिए । सो ‘कल्चर हाउस’ को शौचालय निर्माण गर्न र रङ लगाउन गाउँपालिकाले तीन लाख बजेट विनियोजन गरेको छ ।
ठोरी गाँउपालिका–१ स्थित मगर सामुदायिक होमस्टेकी सञ्चालिका सुशीला मगरले घरमै बसेर राम्रो आम्दानी गर्न सकेको बताइन् । बिहान बेलुकी होमस्टेमा उपयोगविहीन समयको राम्रो सदुपयोग गर्न सकेको भन्दै खुशी व्यक्त गरिन् । रासस


प्रतिक्रिया