चैत ७, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा वडा कार्यालय भवन निर्माण भएको छ । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले जिल्ला प्राविधिक कार्यालय मार्फत आर्थिक वर्ष २०७३/७४ मा निर्माण शुरु गरेको भवन मन्त्रालय खारेज भएपछि बजेट अभावमा अलपत्र थियो । गाउँपालिकाबाट बजेट व्यवस्थापन गरेर अलपत्र अवस्थामा रहेको भवन निर्माण कार्यलाई पूर्णता दिइएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए ।
एक वटा सभाहलसहित पाँच वटा कोठा भएको एकतले भवनलाई पूर्णता दिन गाउँपालिकाले चालू आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको थियो । वडाध्यक्ष बरुवालले अलपत्र परेको भवनलाई पूर्णता दिएर वडा कार्यालय सञ्चालन गरेको बताए ।
विसं २०७३ असार ३० गते भगवती मालिका कन्ट्रक्सनसँग ३८ लाख ५० जार ८१८ मा ठेक्का सम्झौता भएको भवनको जग बसालेर वरिपरि पर्खाल लगाउने काम गरिएपनि पहिलो तलाको ढलानसमेत भएको थिएन ।
गाउँपालिकाको सहयोगमा ढलाल, अधुरो पर्खाल निर्माण, रङ्गरोगन, फर्निचर, विद्युत्, पानी जडान लगायतका काम गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवध्वज खड्काले बताए । वडा कार्यालय भवन योजनालाई अन्नपूर्ण गाउँपालिकाले घारको गौरवको योजना मानेको छ ।
यसअघि साँघुरो र पुरानो भवनको एउटा कोठाबाट भवन सञ्चालन गरिएको थियो । वडा कार्यालय सञ्चालन भएको एकतले पुरानो टिनको छाप्रोबाट घार स्वास्थ्य चौकी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को कार्यालय समेत सञ्चालनमा थियो ।
साँघुरो भवनबाट तीन कार्यालयको सेवा प्रवाह गर्दा समस्या उत्पन्न भएको थियो । घारमा बनेको वडा कार्यालय भवन स्थानीय तहले म्याग्दीमा पहिलो पटक पालिका र वडाका लागि बनाएको संरचना हो ।
तत्कालीन शान्ति मन्त्रालयको सहयोगमा अन्नपूर्ण गाउँपालिकाकै वडा नं ७ को साविक हिस्तान गाविस भवन, धौलागिरि गाउँपालिका–७ ताकमको वडा कार्यालय भवन समेत अलपत्र परेका छन् ।
ताकमको वडा भवनका लागि जग खन्नेमात्र काम भएको छ भने २०७३ असोजमा सम्पन्न गर्ने लक्ष्य राखिएको साविक हिस्तान गाविसको भवन निर्माण योजनाको काम अहिलेसम्म शुरु भएको छैन ।
ठेकेदारले अधकल्चो बनाएर छाडेको अन्नपूर्ण गाउँपालिका–५ शिखको साविक गाविस भवन गाउँपालिकाले बजेट व्यवस्थापन गरेर पूर्णता दिन लागिएको वडाध्यक्ष दिनेश तिलिजाले बताए । रासस




प्रतिक्रिया