कृष्ण न्यौपाने
चैत ५, दमौली । हिन्दूहरुको आस्थाका केन्द्र तनहुँको देवघाट गाउँपालिकाका सबै वडा पूर्ण सरसफाइयुक्त घोषणा भएसँगै यहाँको सुन्दरता र पवित्रतालाई उजागर गरेको छ । यस गाउँपालिकालाई पूर्ण सरसफाइ घोषणा भएपछि देवघाटमा धार्मिक पर्यटकको पनि चहलपहल बढ्ने विश्वास गरिएको छ ।
गत आइतबार एक समारोहबीच वडा नं ५ लाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएपछि गाउँपालिकाका सबै वडा पूर्ण सरसफाइ भएका हुन् । यसअघि बाँकी चार वडालाई पूर्ण सरसफाइ घोषणा गरिएको थियो ।
सबै वडालाई पूर्ण सरसफाइ घोषणा गरिएपछि गाउँपालिकालाई अब नेपालकै पहिलो पूर्ण सरसफाइयुक्त स्थानीय तह घोषणा गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
आइतबार वडा नं ५ को देवघाटमा वडालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्दै प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले सरसफाइमा देवघाटले क्रान्ति नै गरेको बताए । पूर्ण सरसफाइयुक्त घोषणा गरेर मात्र नभई अब त्यसलाई निरन्तरता दिनु देवघाटवासीको लागि जिम्मेवारी रहेको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले सबै वडालाई पूर्ण सरसफाइयुक्त बनाउने देवघाट तनहुँको पहिलो स्थानीय तह भएको भन्दै अब देवघाटको सिकाइ अन्य स्थानीय तहले पनि गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पूर्वीय संस्कृतीको भूमि देवघाट आफैँमा सुन्दर भएको भन्दै अझ स्थानीय तहको प्रयत्नले यसलाई अझ सुन्दर बनाएको बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले २०७४ माघ महीनामा युनिसेफको आर्थिक सहयोगमा गाउँपालिकामा खानेपानी तथा सरसफाइ (वास) कार्यक्रममार्फत पूर्ण सरसफाइको अभियान सञ्चालन भएको भन्दै यो १४ महीनामा सबै बस्ती र टोललाई पूर्ण सरसफाइयुक्त बनाउन सकिएको बताए ।
यो अभियानमा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, विद्यालय परिवार, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी संस्था तथा गाउँपालिकावासीको सहयोग आफूले कहिल्यै नभुल्ने अध्यक्ष थापाले बताए । पाँच हजार ६५१ जनसङ्ख्या र एक हजार ५०६ घरधुरी रहेको देवघाटमा गत माघदेखि युनिसेफको आर्थिक सहयोगमा पूर्ण सरसफाइको कार्यक्रम सञ्चालन भएको थियो ।
यो अभियानको क्रममा सबै घरधुरीमा पक्की शौचालय, ९८ प्रतिशत घरधुरीमा खानेपानीको धारा, तथा सबै विद्यालय, आमा समूहको भवन तथा सामाजिक संस्थामा शौचालय र खानेपानीको धारा जडान भएको गाउँपालिकाका वास संयोजक कृष्णराज पन्थले जानकारी दिए ।
अभियानको क्रममा वडाका सबै नागरिक साबुनपानीले हात धुन सक्षम भएको, सबै शौचालयमा पानीको व्यवस्था भएको, प्रत्येक टोलमा वातावरण सरसफाइ भएको, पानी जम्ने खाल्डाखुल्डी पुरिएको, कुहिने र नकुहिने फोहरको वर्गीकरण गरी त्यसै अनुसारको व्यवस्थापन गरिएको, भान्सा कोठाको सरसफाइ गरिएको लगायतका सूचक अनुशरण गरिएको वास संयोजक पन्थले जानकारी दिए । रासस


प्रतिक्रिया