चैत ५, पोखरा । पोखरा महानगरपालिकाले घर नक्सापासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण गराउने काम शुरु गरेको छ ।
साविक लेखनाथ नगरपालिका एवं हाल पोखरा–२७ मा रहेको कार्यालयमा सञ्चालन गरिएको अभिलेखीकरणको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक कार्यक्रमबीच शुभारम्भ गरे ।
प्रविधिमैत्री सेवाले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने बताउँदै उनले सेवाग्राहीका सबै काम प्रविधि र अनलाइनमार्फत भए कर्मचारीले सेवाग्राहीबाट लाभका कुरा गर्न नपाउने र त्यसले भ्रष्टाचारलाई कम गर्ने उल्लेख गरे ।
नक्सा शाखामा नक्सा पासका किताबका अभिलेख अव्यस्थित हुँदा मुसाले खाने, सेवाग्राहीले चाहेको बेलामा प्रतिलिपि नपाउने जस्ता समस्याको न्यूनीकरणमा विद्युतीय अभिलेखीकरणले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले अभिलेखीकरणले महानगरको कार्यालयलाई कागजरहीत बनाउन सहयोग पुग्ने उल्लेख गरे । महानगरका सूचना अधिकारी गङ्गालाल सुवेदीले २०७३ अघिका झण्डै ६० हजार घर नक्सापासका किताबलाई विद्युतीय अभिलेखीकरण मार्फत व्यवस्थित गरिने जानकारी दिए ।
महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर पूर्णबहादुर गुरुङले एक हजार वर्गफिटसम्मका घरको नक्सापास वडाका प्राविधिकले गर्न सक्ने गरी अधिकार प्रयोजन गरिएको बताए । काठमाडौंको टेक्नोलोजी सेल्स कम्पनीले महानगरका घर नक्सापासका अभिलेखलाई व्यवस्थापन गर्न लागेको कार्यक्रममा जानकारी दिइयो ।
सिद्धार्थ स्मृति भलिबल मैदानको स्तरोन्नति
कास्की जिल्लाको रुपा गाउँपालिका–६ मोहोरीयास्थित सिद्धार्थ स्मृति भलिबल मैदानको स्तरोन्नति गरिने भएको छ । भलिबलका वर्तमान राष्ट्रिय टिम क्याप्टेन इमबहादुर रानामगरलाई भलिबलका क्षेत्रमा यस अवस्थासम्म ल्याई पु¥याउन महत्वपूर्ण योगदान गरेको यस खेल मैदानको स्तरोन्नतिका लागि रुपा गाउँपालिकाले पाँच लाख छुट्याएको छ ।
जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले उक्त निर्माण कार्यको शुभारम्भ गर्दै खेलको माध्यमबाट पर्यटनको विकासका साथै समृद्धिसँग जोडिनुपर्ने आवश्यकता औँल्याए ।
रुपा गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालय स्थापनाका लागि समन्वय समितिको कोषबाट चार करोड विनियोजन गरेको उनले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पालिकाका एक वडा एक खेलमैदान निर्माण कार्य तीव्ररुपमा भइरहेको उल्लेख गर्दै खेलमैदान निर्माण गर्न ३५ लाख विनियोजन गरिएको जानकारी दिए ।
खेल मैदान उपभोक्ता समितिका अध्यक्ष सन्दिप गुरुङका अनुसार ग्रामीण क्षेत्रको महत्वपूर्ण एवं लोकप्रिय खेल भलिबल खेलको विकासको लागि भौतिक पूर्वाधारको खाँचो औंल्याए । गाउँपालिकाका केन्द्रमा रहेको सो भलिबल खेल मैदान फराकिलो बनाउने कार्य भइरहेको सिद्धार्थ क्लबका अध्यक्ष जीवबहादुर थापाले जानकारी दिए । रासस


प्रतिक्रिया