२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवरुद्ध नाग्म–गमगढी राजमार्ग सञ्चालनमा

लेखक स्थानीय खबर ३ चैत्र २०७५, आइतबार २ मिनेट पढाइ

चैत ३, खलङ्गा । भारी हिमपातका कारण दुई महीना देखि अवरुद्ध नाग्म–गमगढी राजमार्ग सञ्चालन हुन थालेको छ । हिमपातले बाटोमै पाँच फिट हिउँ परेका कारण बन्द भएको सडक डिभिजन कार्यालयको पहलमा शुरु भएको हो ।

डिभिजन कार्यालयका डोजरले हिउँ पन्छाउँदै बाटो खुलाएको हो । लामो प्रयासपछि डोजर हिउँ पन्छाएर बाटो खुलेको सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर श्रवणकुमार महताराले जानकारी दिए । उनका अनुसार बाटो खुलेपछि केही सवारीसाधन मुगु जान थालेका छन् ।

सडक डिभिजन कार्यालयले एक महीना देखि बाटो खुलाउन डोजर मार्फत प्रयास गरिए पनि निरन्तर हिमपात भएकाले समस्या भएको उनको भनाइ छ । बाटो खुलाउन माघ १७ गतेदेखि सडक डिभिजन र जेसिभीका कर्मचारी खटिएका थिए ।

मुगु खण्डको आर्मी क्याम्प देखि झारनाउला सम्म हिउँ पन्छाएपछि गाडी पुगेको छ । दुई महीनापछि गाडी पुगेपछि भने मुगुमा दैनिक उपभोग्य सामान सहज हुने भएको छ । दुई महीनादेखि बाटो बन्द भएका कारण दैनिक उपभोग्य सामानको अभाव भएको छ भने अर्कोतिर आवतजावत ठप्प भएकाले समस्या भएको थियो ।

यसैगरी हिमपातका कारण बाटो अवरुद्ध भएपछि यात्रु मुगु र जुम्लामै बस्न बाध्य थिए । बाटो खुलेपछि अब साना सवारी मुगु आउन–जान थालेका छन् । सिञ्जाको गुठीज्यूला भुलभुले घुच्चिलेक देखि पिना सम्मको करीब ३० किलोमिटर हिउँले ढाकिएको र खुलाउन मुगु प्रशासन समेत समन्वय गर्दै आएको थियो ।

बाटो खुलाउन हर प्रयत्न भएको मुगुका प्रजिअ अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । सांसद र स्वयं आफू हिउँ पन्छाउँदै मुगु पुगेको प्रजिअ घिमिरेले जानकारी दिए । उनका अनुसार अझै पनि डोजर प्रयोग गरेर यात्रा सजिलो गर्न प्रयास भइरहेको छ । हिउँ पन्छायो, फेरि माथिबाट पहिरो आउने गरेकाले समस्या बनाइरहेको छ ।

अझ पनि जुम्ला र मुगु क्षेत्रमा दुई वटा डोजर तयारीमा राखिएका छन् । अब एक–दुई दिनमा ठूला सवारी पनि मुगु पुग्ने प्रजिअ अधिकारीले बताए । रासस

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।