१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोकिएको अवधिभन्दा पहिले पक्की पुल निर्माण सम्पन्न



सञ्चिता घिमिरे

चैत ३, काठमाडौं । देशभरका झण्डै आधादर्जन सडकमा पर्ने पक्की पुल ठेक्का सम्झौतामा तोकिएको अवधिभन्दा पहिले नै सम्पन्न भएका छन् । काम गर्ने ठाउँमा अवरोध नहुँदा र ठेकेदारले नियमित रुपमा काम गर्दा यी पुलको निर्माण समयभन्दा पहिले सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले बताएको छ ।

सिन्धुली जिल्लामा रहेको कमला नदी पुल, मरिण नदी पुल, सुर्खेतको भेरी नदी पुल, जयरामघाट नदी पुल लयायतका विभिन्न स्थानमा रहेका पुल तोकिएको अवधिभन्दा पहिले सम्पन्न भएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए ।

उनका अनुसार काम गर्नका लागि ठाउँ खाली हुँदा र ठेकेदारले पनि नियमित काम गर्दा यी पुलको निर्माण तोकिएको समयभन्दा अघि सम्पन्न भएको हो । उनले भने, “समयमा काम हुँदा स्थानीयवासी खुशी हुन्छन् भने समयभन्दा अझै अघि हुँदा ठेकेदारले त्यस ठाउँमा धेरै प्रशंसा पाउने गरेका छन् ।”

सरकारले ठेकेदार मार्फत काम गराउँदा सम्झौता अवधिमा सकिँदैन भन्ने आमधारणा रहेपनि यी योजनाले यसलाई गलत प्रमाणित गरिदिएको प्रवक्ता सापकोटाले बताए । सडक विभागले ठेकेदारमार्फत गरेका काम समयमा भए नभएको मन्त्रालयले समेत अनुगमन गरिरहेको उनले बताए ।

उनले भने, “हामीले पुल निर्माणमा भएका अवरोध हटाएर समयमा काम गर्न भनिरहेका थियौँ ।” गतवर्ष भेरीको नदीमा पुल निर्माण तोकिएको अवधिभन्दा झण्डै एकवर्ष पहिले नै सम्पन्न भएको मन्त्रालयले जनाएको छ । सुर्खेत जिल्लामा पर्ने यो पुल ३५० मिटर लम्बाइ रहेको छ ।

सिन्धुली जिल्लाको मरिण खोलामा सम्झौता अवधिभन्दा १५ महीना पहिले नै पुल निर्माण सम्पन्न भएको छ । सम्झौता अवधि आगामी वर्ष सकिने भए पनि पुल निर्माण सकिएर गत साउनदेखि नै सञ्चालनमा आएको छ । मरिण गाउँपालिका वडा नं ३ र ४ जोड्ने यो पुल निर्माणको जिम्मेवारी रसुवा कन्सट्रक्सनले लिएको थियो ।

सिन्धुली जिल्लामा नै पर्ने कमला नदी पुल तोकिएको अवधिभन्दा १५ महीना पहिले नै सम्पन्न भएको छ । यो पुलको लम्बाइ ३५० मिटर रहेको मन्त्रालयले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने रातु खोला पुल पनि तोकिएको अवधि भन्दा पहिले नै निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । २२५ मिटर लम्बाइको यो पुल धनुषा र महोत्तरी जिल्लाको सिमानामा पर्छ ।

देशभरका झण्डै आधा दर्जन सडक पुल तोकिएको अवधिभन्दा पहिले नै सम्पन्न भइसकेको मन्त्रालयका प्रवक्ता सापकोटाले बताए । उनका अनुसार देशभरका यी पुल निर्माणको काम उदाहरणीय रहेको छ । सार्वजनिक निर्माणमा सरोकारवाला निकायको क्षमता बढेको देखिएकामा उनको जोड छ । उनले भने, “सधैँ सरकारले ठेकेदारमार्फत गर्ने काम बेलामा सकिँदैन भन्ने कुरा यसले गलत सावित गर्दैछ ।”

गत आवमा देशभरमा गरेर ९२ वटा पुल निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यी पुलमा स्थानीय महत्वका पुलदेखि राष्ट्रिय महत्वका पुल रहेका छन् । पुल समयमा सम्पन्न हुँदा त्यसले स्थानीयवासीको जीवन सहज बनाउने प्रवक्ता सापकोटाले बताए । उनले भने, “सडक पुल बनेपछि सडक आवागमनमा सहज हुनुको साथै स्थानीय उत्पादनले बजार पाएका छन् ।”

पुलमा नयाँ प्रविधि भित्रनु पनि उपलब्धिका रुपमा रहेको मन्त्रालयले बताएको छ । काठमाडौं कै धोबीखोला र बागमती खोलामा नयाँ प्रविधिको पुल निर्माण भइरहेको छ । ‘नेटवर्क आर्क ब्रिज’ भनिने प्रविधि देख्दा पनि राम्रो देखिने उनले बताए । उनले भने, “अरु देशमा पहिलेदेखि नै रहेको प्रविधि हाम्रो देशमा पनि शुरु हुनु उपलब्धि हो ।”

सडक पुल मात्रै नभएर झोलुङ्गे पुल निर्माण तीव्रगतिमा भइरहेको छ । गतवर्ष देशभरमा गरेर ४१७ झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको थियो । तुइन वा अन्य माध्यमबाट जोखिमपूर्ण यात्रा गर्न विवश जनतालाई ती झोलुङ्गे पुलको निर्माणले सुरक्षित र भरपर्दो यात्रा गर्न र उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुगेको छ । रासस

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार ००:००