फागुन ३०, डडेल्धुरा । भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको सिमानामा पर्ने सेरागाडमा गत वर्ष भत्किएको पक्की मोटरेबल पुल पुनर्निर्माण थालिएको छ । गत साउनमा भत्केको सो पुल सात महीनापछि पुनर्निर्माण हुन लागेको हो ।
बगरकोट–देवल सडक खण्डको सेरागाडमा निर्माणाधीन अवस्थामा रहेको पुल ढलान गरेपछि साउनमा बाढीले भत्काएको थियो । अहिले भत्किएको पुलको सफाइ गरेर बिमका लागि ढलान, छड, ब्यारिङ लगाउने काम शुरु भएको छ ।
आउँदो वैशाखभित्र पुलको पुनर्निर्माण सम्पन्न हुने निर्माणको ठेक्का पाएको ‘विकोई बिल्डर्स निर्माण प्रालि’का इञ्जिनीयर तीर्थ गुरुङले जानकारी दिए । “जेठमा पुल हस्तान्तरण गर्ने कार्यक्रम छ” उनले भने ।
मूल्य अभिवृद्धि करसहित पाँच करोडको लागतमा पुल निर्माण भइरहेको छ । पुल निर्माणपश्चात् जिल्लाको अजयमेरु गाउँपालिका ५ र ६ सहित बैतडीको तल्लो स्वराड क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सहज हुने अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए ।
आव २०७१÷७२ मा ठेक्का सम्झौता भएको उक्त पुल आव २०७३÷७४ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्पन्न नहुँदै ढलान गरेको पुल निर्माण क्रममै भत्किएको थियो । पुलको लम्बाइ ४० मिटर रहेको छ ।
पेट्रोलको अभाव
सदरमुकाममा केही दिनयता पेट्रोल पाउन छाडेको छ । डडेल्धुरास्थित दुई पेट्रोल पम्प बिग्रिएपछि पेट्रोल अभाव भएको हो । पम्पमा पेट्रोल पाउन छाडेपछि सास्ती भएको स्थानीयवासी प्रेम विष्टले बताए ।
पम्पमा पेट्रोल भए पनि मेशिन बिग्रँदा पूर्ति गर्न नसकिएको पम्प सञ्चालकको भनाइ छ । पम्प सञ्चालकलाई बोलाई पम्प चाँडो मर्मत गर्न सुझाव दिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । रासस


प्रतिक्रिया