२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीयस्थल बाराही ताल जाने सडक निर्माण



फागुन २९, गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको पर्यटकीयस्थल बाराही ताल जानका लागि सडक निर्माण गरिएको छ ।

वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजित तीन लाख र स्थानीयवासीको २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष पुकार घर्तीले जानकारी दिए ।

अध्यक्ष घर्तीले दिएको जानकारी अनुसार देउगोरे, झाम्ताबोट र दास हुँदै बाराही ताल सम्मका लागि ८०० मिटर सडक निर्माण गरिएको हो । सडकको चौडाइ छ मिटर फराकिलो बनाइएको छ । पछिल्लो समय पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको तालमा पर्यटन प्रवर्धन गर्न मोटरबाटो निर्माण गरिएको वडाध्यक्ष टङ्कप्रसाद पुनमगरले बताए ।

साथै, तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरी बगैँचा निर्माण गर्न वडा कार्यालयबाट तीन लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष पुनमगरले जानकारी दिए ।

यसैगरी बराही तालको पर्यटन प्रवर्धन गर्न बाराही ताल हुँदै छिमेकी जिल्ला ताराखोला गाउँपालिकाको देउरालीसम्म मोटरबाटो निर्माण हुने उनले जानकारी दिए । बराही ताल जानका लागि यसअघि वडा कार्यालयद्वारा पदमार्ग निर्माण गरिएको छ ।

विद्यालयलाई एक लाख सहयोग

आर्थिक अभावका कारण शिक्षकलाई तलब खुवाउन नसकेर समस्यामा परेको म्याग्दीको एक विद्यालयलाई एक व्यक्तिले एक लाख आर्थिक सहयोग गरेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेँसी निवासी हाल (युके)मा कार्यरत दलबहादुर रोकामगरले दुखुलेकस्थित मालिका आधारभूत विद्यालयलाई एक लाख सहयोग प्रदान गरेका हुन् ।

रोकामगरले सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम रोकामगर र प्रअ पहलबहादुर रोकामगरलाई हस्तान्तरण गरे ।

सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी एवं चन्दादाता रोकामगरले दुर्गम क्षेत्रमा रहेको विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि, गरीब विपन्न विद्यार्थीलाई छात्रवृत्तिमा सघाउने, भौतिक पूर्वाधार निर्माण र प्राविधिक शिक्षाको विकासका लागि आर्थिक सहयोग गरिएको बताए । रासस

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार ००:००