शेरिफ केसी
जीतपुर, २८ फागुन
कपिलवस्तुको मुख्य सडकखण्डमा पछिल्लो समय छाडा चौपायाको समस्या बढ्दै गएको छ । सडकबीचबाट छाडा चौपाया आवतजावत गर्ने र बस्ने भएपछि दुर्घटना र जाम बढाएको छ ।
कपिलवस्तुमा छाडा चौपाया नियन्त्रण गर्ने सरोकार निकायले भने अहिलेसम्म कुनै पहल गरेको देखिएको छैन । जिल्लाका मुख्य र व्यस्त रहने बजार चार नम्बर, गोरुसिँगे, इमलिया, चन्द्रौटा, पिपरा, तौलिहवा, कृष्णनगरलगायत सडकमा छाडा चौपायका कारण सडक दुर्घटना बढेको र सवारी आवतजावतमा बाधा पुगिरहेको छ ।
सडकमा ठिङ्ग उभिएका र दौडिरहेका पशुचौपायाले पैदलयात्री र सवारी चालकको सातोपुत्लो लिन्छन् । सडकपेटीमा बस्न, खान र हिँड्न पाएका गाईगोरुले आवतजावतमा अवरोध र सडक दुर्घटना बढाएको छ ।
कपिलवस्तुमा बूढा पशुचौपाया गाईगोरु सडकमा ल्याएर छाड्ने संस्कार नै भइसकेको छ । केही समयअघि मात्र छाडा चौपायाका कारण जिल्लामा केही व्यक्ति घाइतेसमेत भएका छन् ।
आँखै अगाडि दुर्घटना देख्दा प्रहरी र नगपालिकाले कुनै कदम चालेका छैनन् । सडकमा गुड्ने सवारी जाँच र सडकमा हुने भीडभाड नियन्त्रणको जिम्मा लिएको ट्राफिक प्रहरीले पनि यसमा खासै ध्यान दिएको छैन ।
कपिलवस्तुमा गत आर्थिक बर्ष ०७४/७५ मा छाडा चौपायाका कारण ४ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ । यसैगरि १६ चौपाया एक वर्षका अवधिमा दुर्घटनाबाट मरेका छन् ।
छाडा चौपाय सडकमा हिँड्दा सवारी साधन चलाउँदा झुक्किने गरेको सवारी चालकहरू बताउँछन् । नेपालका साँगुरा सडकमा वस्तुभाउ बस्दा समस्या हुने गरेको चालकको भनाइ छ । दिनभर लखट्ने गरे पनि रातमा सुतेको समयमा आउँदा खेतबारीमा उत्पादन गरेका तरकारी खाइदिने समस्या छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भने छाडा चौपायालाई स्थानीय तहले व्यावस्थापन गर्नुपर्ने व्यवस्था छ । अहिले जिल्लाका केही स्थानीय तहले छाडा चौपाय नियन्त्रण गर्न केही छलफल गरे पनि कुनै ठोस काम भएको छैन ।
यता जिल्लाका स्थानीय तहहरूले छिमेकी जिल्लाका बासिन्दाले लुकिछिपी छाडा चौपाया छाड्दा आफूलाई समस्या परेको गुनासो गरेका छन् । अन्तरस्थानीय तहबीच समन्वय नहुँदा पनि पशु चौपाय व्यवस्थापनको काम अघि बढ्न सकेको छैन । रासस


प्रतिक्रिया