फागुन २८, नुवाकोट । मेलमिलापकर्ताका कारण स्थानीय तहका न्यायिक समितिलाई न्याय सम्पादन गर्न सहज भएको छ ।
स्थानीयस्तरका विवाद छिटोछरितो समाधान गर्नका लागि न्यायिक समितिले मेलमिलापकर्तालाई सक्रिय बनाउन थालेका छन् । मेलमिलापकर्ताले वडा वडामा नै मेलमिलाप गराउने भएकाले न्यायिक समितिसम्म थोरैमात्र विवाद आउने भएकाले सहज भएको सूर्यगढी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मञ्जु बुढाथोकीले बताइन् ।
“वडा वडामा नै मेलमिलाप केन्द्र स्थापना भएका छन् । वडा कार्यालयसँगै स्थापना भएका मेलमिलाप केन्द्रमा नै धेरै विवाद समाधान हुन्छ । त्यहाँ नभएका मात्र गाउँपालिकाको न्यायिक समितिमा आउँछ” उनले भनिन्, “यसले गर्दा सहज भएको छ । यही सहजताका लागि नै हामीले मेलमिलापकर्तालाई न्यायिक समिति अन्तर्गत नै राखेर परिचयपत्र प्रदान गरिरहेका छौँ ।”
विनाशकारी भूकम्पछि जिल्लामा भित्रिएका मेलमिलाप केन्द्रले जल, जङ्गल र जमीनसँग सम्बन्धित तथा अन्य सामाजिक विवाद मिलाउँदै आएका छन् । मेलमिलाप केन्द्र र न्यायिक समितिले गर्ने काम एउटै भएकाले गाउँपालिकाभित्र रहेका मेलमिलापकर्तालाई साथमा लिएर काम गर्न थालिएको ककनी गाउँपालिकाकी न्यायिक समिति संयोजक सीता लामा खतिवडाले बताइन् ।
अहिले जिल्लाका ८८ वडामध्ये ८६ वडामा मेलमिलाप केन्द्र स्थापना भइसकेको प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालका जिल्ला संयोजक सीताराम पौडेलले बताए । पौडेलका अनुसार अहिले मेलमिलापकर्तालाई संस्थाले तालीम दिने र काम न्यायिक समिति अन्तर्गत रहेर गर्ने व्यवस्था मिलाइएको छ । स्थानीय न्यायिक समितिले ३०० मेलमिलापकर्तालाई आफ्नो समिति अन्तर्गतको मेलमिलापकर्ता भनेर परिचयपत्र नै वितरण गरिसकेका छन् ।
विवाद समाधान गर्नेबारे मेलमिलापकर्ताले आठ दिनको आधारभूत र चार दिनको उच्चस्तरीय तालीम लिएका हुन्छन् । जसका कारण उनीहरूमा विवाद समाधान गर्ने सीप रहेको न्यायिक समितिले जनाएको छ । मेलमिलापकर्तालाई सम्बन्धित वडासँग सहकार्य गरेर गाउँको विवाद गाउँमै मिलाउन आग्रह गरिएको ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडाले बताइन् ।
सहकार्यका लागि अहिले न्यायिक समिति, वडाध्यक्ष, मेलमिलापकर्ता र सरोकारवाला बीच निरन्तर अन्तरक्रिया भइरहेका छन् । मेलमिलाप केन्द्र र न्यायिक समितिका पदाधिकारीलाई तालीम दिएर दक्ष बनाई परिचालन गरिएको विदुर नगरपालिका–९ का वडाध्यक्ष शनि चित्रकारले बताए । रासस


प्रतिक्रिया