१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँविकास र समाज सेवामा बाबियाचौरका महिला



ध्रुवसागर शर्मा

फागुन २४, गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौरका महिला समाज सेवा र गाउँ निर्माणमा जुटेका छन् । मालिका जागरण महिला समूह सहश्रधारा बाबियाचौरका महिला आफ्नो गाउँलाई आफैँ बनाउने अभियानमा जुटेका हुन् । ‘‘अर्काको मुख ताक्नुभन्दा आफ्ना लागि त आफैँ गर्नुपर्छ भन्ने लागेर सबै महिला एकजुट भई आमा समूह गठन गरेका छौँ’’ समूहकी अध्यक्ष इन्दु केसीले भनिन् ।

विसं २०६३ मा स्थापना भएको सो आमा समूहले विकास निर्माणका कार्यका साथै सस्तो ब्याजदरमा ऋण लगानीसमेत गरेको छ । मासिक १० रुपैयाँका दरले पैसा उठाउँछौँ अनि विवाह, व्रतबन्ध हुँदा र गाउँमा लाहुरे आउँदा पनि गीत नाच देखाएर त्यसबाट उठेको पैसा विकास निर्माणमा खर्च गर्न सकेको अध्यक्ष केसीले बताइन् । २१ सदस्य रहेको आमा समूहले गाउँमा सजिलो होस् भनेर विवाह व्रतबन्धका लागि चाहिने भाँडाकुँडा, पाल लगायतका सामग्रीसमेत किनेको छ ।

केसीले भनिन्, “हामीले स्वदैशमै लगानी गर्छौं भनरे भन्नेलाई पनि सस्तो ब्याजदरमा ऋण दिन्छौँ, विदेश जानेलाई समेत सस्तो ब्याजदरमा ऋण दिने गरेका छौँ ।”

समूहमा धेरै पैसा सङ्कलन त भएको छैन तर पैसा नै नभए पनि हरेक काममा हामी सबै महिला सदस्य सहभागी हुन्छौँ र सबै एकजुट भएर लाग्छौँ उनले भनिन् । महिलाले गाउँमा हुने विकास निर्माणका काममा समेत नेतृत्व लिने गरेका छन् । खानेपानी, बाटोमर्मत, सामुदायिक वन, आमा समूहको भवन लगायत गाउँमा हुने भौतिक निर्माणका काममा पनि उनीहरुको नेतृत्वदायी भूमिका रहने गरेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

“यहाँका महिला सामाजिक रुपान्तरणका लागि स–साना कामबाट नै लागेका छन्” अध्यक्ष रोकाले भने, “महिला जागरुक हुँदा समाजमा विकास निर्माणका काम छिटो र छरितो हुँदा रहेछन् भने अनियमितताको डर पनि नहुने रहेछ ।” रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ००:००