१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीयस्थल मालिका धुरी जोड्ने सडक निर्माण शुरु



फागुन २२, म्याग्दी । म्याग्दीको धार्मिक पर्यटकीयस्थल मालिका धुरी जोड्ने सडक निर्माण शुरु भएको छ । यातायात सुविधामार्फत धार्मिक र आन्तरिक पर्यटक भित्र्याउन मालिका गाउँपालिकाले बिमको बाइन्दफाँट बिम्बाङ हुँदै मालिका जोड्ने सडक आयोजना शुरु गरेको हो ।

गाउँपालिकाले विनियोजन गरेको ५० लाख बजेटबाट उपभोक्ता समितिमार्फत सडकको ट्र्याक खोल्ने काम शुरु गरिएको छ । गत वर्ष विनियोजन भएको आठ लाखबाट बाइन्दफाँट देखि करीब दुई किलोमिटरमाथि बिम्वाङ पु¥याइएको थियो ।

यस वर्ष बिम्बाङको काउलेदेखि छ किलोमिटर दूरीमा रहेको धौलागङ्गा भन्ने ठाउँसम्म सडक पु¥याउने लक्ष्य राखिएको वडाध्यक्ष रेशम जुग्जालीले बताए । हालसम्म एक किलोमिटर ट्र्याक खुलिसकेको छ । अबको तीन महीनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ट्र्याक खोल्ने काम भइरहेको उपभोक्ता समितिले जनाएको छ ।

पहिलो चरणमै सात मिटर फराकिलो र प्राविधिकको सिफारिशअनुसार ग्रेड मिलाएर सडक खनिएको उपभोक्ता समितिका अध्यक्ष रैप्रसाद जुग्जालीले बताए । भौगोलिक विकटता र बस्तीदेखि टाढाको जङ्गलमा सडक निर्माण गर्न समितिका पदाधिकारी पालो गरेर जङ्गलमै बास बसेका छन् ।

समुद्री सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित मालिकामा आन्तरिक पर्यटक र भक्तजन भित्र्याउने उद्देश्यले सडक निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडकले यातायात सुविधा सहज भएर भक्तजन सजिलैसँग मालिका जानआउन सक्ने विश्वास छ ।

ढिगो र प्रभावकारी बनाउन प्राविधिक अध्ययनबाट तयार पारिएको डिपिआर अनुसार वातावरण र भूगोल अनुकूलको सडक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । सडक पुग्ने ठाउँदेखि मालिका धुरीसम्म जोड्ने पदमार्ग र अन्य पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप १५ लाख विनियोजन गरेको छ । मालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम हो ।

मालिका गाउँपालिकाको ७ र ६ तथा रघुगङ्गा गाउँपालिका ६ को सिमानामा अवस्थित मालिका पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेल परेको छ । २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ४५ मध्ये गुर्जाबाहेकका ४४ वडा, लालीगुराँस, वन्यजन्तु, पक्षीहरुको अवलोकन गर्न सकिन्छ ।

सहज पदमार्ग, आवास, खानेपानी लगायत सुविधाको अभावका साथै प्रचारप्रसारको कामीले मालिकामा पर्यटक भित्रिन सकेका छैनन् । मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका मन्दिरमा भाकल पूरा भएमा बोका र परेवाको बली चढाउने चलन छ । रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ००:००