१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक शौचालय निर्माणका लागि स्थान पहिचान



फागुन २१, काठमाडौं । काठमाडौं महानगरले सार्वजनिक यातायातका साधनले यात्रु चढाउने र ओराल्ने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माणको लागि स्थान पहिचान गरेको छ । कामपाका सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख ध्रुव काफ्लेका अनुसार मानिसको आवतजावत र किनमेल बढी हुने स्थानमा शौचालय निर्माण गर्ने तयारी रहेको छ ।

हालसम्म पहिचान भएका स्थानमा बबरमहलमा नेपाल कला परिषद्को अगाडि, थापाथली बसस्टप, बानेश्वर मन्दिर अगाडि, कोटेश्वर चोकको पूर्वतर्फ, टेकुको नेशनल ट्रेडिङ अगाडि, कलङ्की मेट्रो हल आसपास, बालाजु, बाइसधारा, सीतापाइला बसस्टप, माछापोखरी लगायतका स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो ।

यससँगै गौशाला, तीनकुने, त्रपुरेश्वर, सुन्धारा, एनएसी, जुद्ध सालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि पहिलो चरणमा काम गर्नुपर्ने स्थानका रुपमा सिफारिस छन् । गत माघ ६ गते गठन भएको सार्वजनिक शौचालय निर्माणसम्बन्धी कार्यदलले उक्त स्थान पहिचान गरेको हो ।

हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् । ती सार्वजनिक शौचालयमध्ये २८ प्रयोग गर्न मिल्ने अवस्थामा छन् । बाँकी ३० मर्मत नगरी प्रयोग नै गर्न नमिल्ने कामपा स्वयंले स्वीकार गरेको छ ।

एकाइ प्रमुख काफ्लेले अहिले सञ्चालनमा रहेका कतिपय शौचालयमा पानी, साबुनको व्यवस्था नभएको, अपाङ्गमैत्री नभएको, प्रकाशको व्यवस्था नभएको, महिलालाई स्यानिटरी प्याड फेर्ने तथा फाल्ने ठाउँ नभएको देखिएको उल्लेख गर्दै यी आधारभूत सुविधा नियमन गर्नसके मात्रै पनि तत्काल सुधार देखिने बताए ।

महानगरले विगत दुई वर्षअघिदेखि नै विभिन्न ४१ स्थानमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य लिएको भए पनि हालसम्म काम अघि बढ्न सकेको थिएन ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले शौचालय निर्माणकै लागि गत वैशाखमा सबै वडालाई सार्वजनिक स्थान पहिचान गर्न निर्देशन दिएका थिए । स्थान पहिचान भएसँगै अब लागत सहितको डिजाइन तयार गर्नेछ । लागत सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने महानगरको प्रयास हुने बताइएको छ । रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार ००:००