गङ्गराज पण्डित
फागुन २०, बाजुरा । बडिमालिका नगरपालिकाका ९ वटै वडामा इन्टरनेट जडान गरिएको छ ।
सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्नका लागि जिल्लामै पहिलोपटक बडिमालिका नगरपालिकाले सबै वडामा इन्टरनेट सुविधा जडान गरेको नगर प्रमुख पदम बडूवालले बताए ।
कम्प्युटरमा सफ्टवेयरको प्रयोगका लागि इन्टरनेट सुविधा आवश्यक भएको र सार्वजनिक सेवालाई समयानुकुल छरितो बनाउन बिषेश महत्वका साथ इन्टरनेट जडान गरिएको उनले बताए ।
ई–बडिमालिका नगरपालिका सहितको नारा लिएर इन्टरनेट जडानको योजनालाई पहिलो प्राथमिकतामा राखिएको नगरपालिकाका उप प्रमुख कविता विष्टले बताइन् ।
“सबै वडामा कम्प्युटरको माध्यमबाट कामकाज सञ्चालन गर्ने बडिमालिका जिल्लामै पहिलो नागरपालिका भएको छ”, बडिमालिका नगरपालिकाका प्रशासकीय अधिकृृत हीरालाल भण्डारीले भने, “वडा कार्यालयमै इन्टरनेट सुविधा हुँदा दैनिक कामकाज सहज भएको छ ।”
“चिठीपत्र बोकेर पु¥याउनुपर्ने, लिखित कागजात बोकेर आदानप्रदान गर्नुपर्ने र सेवाग्राहीलाई पनि केही सच्याउनुपर्ने समस्या भए केही दिन कुर्नुपर्ने अवस्था थियो तर प्रविधिमैत्री वडा कार्यालय बनाएसँगै यी सबै समस्या समाधान भएको छ,” २ नं. वडाका वडाध्यक्ष डम्मर महतले बताए ।
सेवाग्राहीलाई छिटोछरितो, सहज र पारदर्शी सेवा प्रवाहका लागि नगरपालिकाले प्रविधिमैत्री वडा निर्माणमा विशेष महत्व दिएको नगरपालिकाका सूचना अधिकृत हेमबहादुर थापाले बताए ।
जन्मदर्ता, सामाजिक सुरक्षा भत्ताको लगत संकलन, विभिन्न तथ्याङ्क दाखिला गर्नदेखि वडाबाट प्रदान गरिने विभिन्न सेवा सुविधा प्रदान गर्नका लागि इन्टरनेट सुविधा जडान गरिएको छ । यसले सेवाग्राही र कर्मचारी दुबैलाई सहज भएको बडिमालिका नगरपालिका– १ का वडा सचिव मदन दानीको भनाई छ ।
प्रत्यक वडा कार्यालयमा मात्र नभइ नगरपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था लगायतका क्षेत्रमा पनि इन्टनेटको सुविधा जडान गर्ने नगरपालिकाको लक्ष्य छ । इन्टरनेटको माध्यमबाटै नियमन र निगरानी समेत नगरपालिकाबाटै गर्न सक्ने गरी आवश्यक तयारी गरिएको छ ।
नगरपालिकाभित्र रहेका १, ७, ५ र ६ नं वडा बढी दुर्गममा पर्दछन् । सेवा जडानपछि टाढाका वडा कार्यालयमा पनि सदरमुकाम भित्रकै जस्तो अनुभूति हुने गरेको कर्मचारीहरूको भनाइ छ । रासस




प्रतिक्रिया