१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खप्तड जोड्ने पुल बन्नलाग्दा स्थानीयवासी हर्षित



फागुन १७, बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिका जोड्ने जडारीगाडमा पर्यटकीयस्थल खप्तड जोड्ने पक्की पुल निर्माण शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

चालिस मिटर लामो सो पुल शिलान्यास पछि निर्माण पनि शुरु गरिएकाले यहाँका बासिन्दामा खुशियाली छाएको हो । धार्मिक एवं पर्यटकीय दृष्ट्रिले महत्वपूर्ण मानिएको यो क्षेत्रमा बाह्य र आन्तरिक पर्यटकलाई भित्र्याउन सके आर्थिक विकासमा पनि टेवा पुग्ने स्थानीयवासी बताउँछन् ।

वर्षौंदेखि पक्की पुल नहुँदा स्थानीयवासीले समस्या झेलीरहेका थिए । उक्त पुल निर्माणका लागि गएको वैशाखमा खम्पाचेटी टिडिआर जेबीले ६ करोड ४२ लाखको लागतमा निर्माण गर्ने ठेक्का पाएको थियो । सो पुल दुई वर्षभित्र निर्माण गरिने भएको छ ।

दुई वर्षदेखि कष्टका साथ काठेपुलमा सवारीसाधन गुडाउने गरिएको स्थानीयवासी दर्षन खड्काले बताए । “पुल निर्माणको काम शुरु भएपछि निकै खुशी भएको छु” उनले भने, “पक्की पुल नहुँदा हामीले निकै दुःख पाएका थियौँ ।”

खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले कामको कडा निगरानीका साथ छिटोभन्दा छिटो निर्माण गर्न पहल गर्ने बताए ।

ठेकेदार शेरबहादुर खड्काले भने, “छान्ना मेरो स्थानीय ठाउँ पनि हो, आवश्यक सामान र उपकरणसमेत तयार पारी काम शुरु गरिसकेको छु, अबको दुई वर्षभित्र जसरी पनि पुल निर्माण गर्ने प्रयासमा छु ।” पुलका लागि खाल्डा खन्ने कामसमेत बुधबारदेखि शुरु गरिएको छ । रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार ००:००