फागुन १३, काठमाडौं । स्थानीयवासीले जोरपाटी–सुन्दरीजल सडक यथाशिघ्र कालोपत्र गर्न तीनै तहका सरकारसँग माग गरेका छन् ।
तीन वर्षअघि ८४ करोडमा ठेक्का लागे पनि अझै कालोपत्र शुरु नभएपछि सात किमी लामो सडक जोरपाटी–सुन्दरीजल सडक दबाब समूहले तीनै तहका सरकारलाई हस्ताक्षर सङ्कलन गरी बुझाएको छ ।
हस्ताक्षर सङ्कलन गोकर्णेश्वर नगरपालिकालाई बुझाइएको छ । खाल्डाखुल्डी र धुलोधुवाँका कारण सडकमा हिँड्न गाह्रो भएपछि समूहले हस्ताक्षरमार्फत दबाब दिएको हो ।
नगरपालिकाका उपप्रमुख शान्ति नेपालले ठेक्का लागेको तीन वर्षसम्म काम नहुँनु दुःखद कुरा भएको बताइन् । छिटो सडक बनाउन निरन्तर सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएको उनको भनाइ थियो ।
ठेक्काको केही रकम लिएका निर्माण व्यवसायीले काममा बेवास्ता गरेको दबाब समूहका संयोजक गोपाल श्रेष्ठले बताए । “पानी पर्दा हिलो र घाम लाग्दा धुलोले हिँड्न सकिने अवस्था छैन” उनले भने ।
नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले सडक विस्तार नगरी तत्काललाई खाल्डाखुल्डी, धुवाँ र धुलो अन्त्य गर्न हाल भइरहेकै चौडाइमा कालोपत्र गर्ने गरी सङ्घीय सरकारसँग सहमति भएको बताए ।
हाल १४ मिटर चौडाइ रहेको सो सडक २२ मिटर बनाउँदा ८०० भन्दा बढी घर भत्काउनुपर्ने भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन् । रासस


प्रतिक्रिया