२९ चैत्र २०८०, बिहिबार | Fri Apr 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण हुने



फागुन १०, लहान । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने बताएका छन् ।

‘समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार’ मूल नाराका साथ मिर्चैया नगरपालिका–६ स्थित बजारमा माघ २८ गतेदेखि शुरु भएको ‘प्रथम मिर्चैया महोत्सव २०७५’ समापन कार्यक्रममा मन्त्री साहले मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजारको निर्माण गरिने भएकाले स्थानीय तहलाई यस विषयमा चासो देखाउन आग्रह गरे ।

प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले प्रदेश सरकारको एकवर्षे कार्यकाल सफल भएको दावी गरे । महिला हिंसा न्यूनीकरण र छोराछोरीबीचको विभेद अन्त्यका लागि प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानलाई सफल बनाउन सबैसँग आग्रह गरे । मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले स्थानीय हाटबजार वैज्ञानिक ढङ्गबाट अगाडि बढाउन नगरपालिकाले समेत योजना बनाइरहेको बताए ।

नगरपालिकाको धार्मिक पर्यटकीयस्थलको विकास, उद्योग, व्यापार, पर्यटन, जडीबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ अग्रसर गराउने उद्देश्यले सञ्चालन भएको महोत्सवको नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका थिए ।

महोत्सवमा मिर्चैयाका साथै प्रदेश र देशभरिमा उत्पादित तथा निर्मित वस्तुको प्रदर्शन, विभिन्न क्षेत्रका रहनसहनसहितको मौलिक खानाको परिकारको बिक्री तथा प्रदर्शनी, कृषिजन्य वस्तुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क उपचार, बाल उद्यान तथा विविध मनोरञ्जनात्मक कार्यक्रम, जिल्लाको स्थानीय उत्पादन कृषिजन्य वस्तुको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणका लागि महोत्सवमा १३१ स्टल रहेको थियो ।

आन्तरिक तथा बाह्य गरी करीब चार लाख दर्शकले अवलोकन गरेको महोत्सवमा करीब ५० लाख बराबरको खर्च भएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष हरिशङ्कर साहले जानकारी दिए । रासस

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार ००:००