१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैनामैना नगरपालिकामा सीप विकास प्रतिष्ठान बन्ने



फागुन ७, रुपन्देही । सरकारले बनाउन लागेको सीप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैना नगरपालिकामा बन्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिष्ठान निर्माण गर्ने भएपछि सैनामैना नगरपालिकाले उपलब्ध गराएको जग्गाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले स्थलगत अवलोकन गरेका छन् ।

सरकारले देशका तीन स्थानमा केन्द्रीयस्तरको सीप विकास प्रतिष्ठान निर्माण गर्ने भएको हो । प्रतिष्ठान निर्माणका लागि सैनामैना नगरपालिका–७ लम्टैयामा ४० बिघा क्षेत्रफलको जग्गा उपलब्ध गराइएको छ ।

मन्त्री बिष्टले नेपालको नारायणी नदी पश्चिमदेखि धनगढीसम्मका हजारौँ युवालाई सीप प्रदान गर्ने खालको प्रतिष्ठान सैनामैनामा निर्माण हुने जानकारी गराए । “तत्कालीन अवस्थामा स्वदेशमा नै सीप सिकेर केही गर्न चाहने युवालाई दक्ष बनाउने गरी तालीम प्रदान गरिनेछ” उनले भने, “यसले सीपयुक्त जनशक्ति विदेश पलायन रोकिनेछ ।”

उनले अहिले विदेश जाने अधिकांश युवा दक्ष सीप नभएकै कारण विदेशमा उचित पारिश्रमिकबिना काम गर्नु परेको बताए । उनले करीब सय बिघा क्षेत्रफलमा आवासीय सुविधासहितको बन्ने प्रतिष्ठानमा पहिलो चरणमा मध्यममस्तरको तालीम युवालाई प्रदान गरी दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्य रहेको प्रस्ट पारे ।

सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भने, “बेरोजगार जनशक्तिलाइ दक्ष र आत्मनिर्भर बनाउन निर्माण गर्न लागिएको प्रतिष्ठानलाई अपुग भए थप जग्गा उपलब्ध गराउन तयार छौँ ।” केही समयमा नै विस्तृत योजना सर्वेक्षण प्रतिवेदन (डिपिआर) बनाएपछि त्यसको भौतिक पूर्वाधार निर्माणको चरण अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार ००:००