२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप बजेट नआउँदा खानेपानी आयोजना अलपत्र



फागुन ५, काभ्रेपलाञ्चोक । पुनःनिर्माण योजना अन्तर्गत शुरु गरिएका जिल्लाका खानेपानी आयोजना थप बजेट नआउँदा अलपत्र अवस्थामा छन् ।

केन्द्रीय सरकारको पुनःनिर्माण शीर्षकको बजेटबाट विसं २०७३ देखि विभिन्न मितिमा शुरु गरिएका ९० खानेपानी आयोजनामध्ये हाल १० मात्रै सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्राविधिक शिवप्रसाद शर्माले काभ्रेपलाञ्चोकमा बाँकी ८० खानेपानी आयोजनाको थप बजेट नआउँदा अलपत्र अवस्थामा रहेको बताए ।

बनेपा नगरपालिका–३ चुनातालका लिफ्टिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष टेकप्रसाद दाहालले ३० लाखको खानेपानी योजनाको विसं २०७३ साउनमा पहिलो किस्ता १० लाख लिएर शुरु गरिएको बताउँदै त्यसपछि थप बजेट नआउँदा काम अलपत्र अवस्थामा रहेको जानकारी दिए । “बजेट केन्द्र वा प्रदेश सरकारले पठाउनेबारे टुङ्गो नलागेकाले थप बजेट नआएको भन्छन्, हामीलाई योजना छिटो सकेर खानेपानी उपभोग गर्नपाए हुन्थ्यो भन्ने छ” उनले भने ।

दाहालका अनुसार यस योजनाको मूलदेखि लिफ्ट गर्ने स्थानसम्म पाइप र एउटा १० हजार लिटरको ट्याङ्की मात्रै निर्माण गरिएको छ भने एउटा रिजर्भ ट्याङ्की निर्माण गरी मुख्य पाइपलाइन र घरघरमा खानेपानी पु¥याउने पाइप विस्तार गर्न बाँकी रहेको छ ।

खानेपानी आयोजना अनुसार बजेट छुट्याइए पनि पहिलो किस्तावापतको रकमले शुरु गरिएपछि केही आयोजनाले मात्रै कार्यप्रगतिको आधारमा दोस्रो किस्ता लिएर काम गरेको प्राविधिक शर्माले बताए । उनका अनुसार मुलुक सङ्घीयतामा गएसँगै खानेपानी आयोजनाको बाँकी बजेट रकम केन्द्र सरकार वा प्रदेश सरकारमार्फत आउने भन्ने अन्योलका कारण निर्माणाधीन आयोजना अलपत्र अवस्थामा पुगेका हुन् ।

मुलुक सङ्घीयतामा गएपछि गत साउनमा काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हाल सिन्धुपाल्चोकको चौतारामा सारिएको छ । त्यस कार्यालयको कार्यक्षेत्र अब दुवै जिल्ला रहेको छ ।

डिभिजन कार्यालय प्रमुख राजेन्द्र न्यौपानेले पुनःनिर्माण कार्यक्रम अन्तर्गतको निर्माणाधीन खानेपानी आयोजनाका लागि केन्द्र सरकार वा प्रदेश सरकार कहाँबाट आउने भन्ने अझै अन्योलता रहेको बताए । उनले भने, “यसबारे पहिला प्रदेश सरकारसँग बुझेर मात्रै प्रक्रिया अघि बढाउने योजना बनाएका छौँ ।” उनका अनुसार बजेटको अन्योलताकै कारण डिभिजन कर्यालयको क्रमागत खानेपानी योजना काभ्रेपलाञ्चोकमा ७५ र सिन्धुपाल्चोकमा ६५ वटा अलपत्र अवस्थामा रहेका छन् । रासस

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार ००:००