११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घन्धित बन्दै राजपुर बजार क्षेत्र



फागुन ३, डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुर बजार क्षेत्र दिनानुदिन दुर्घन्धित बन्दै गएको छ । केही वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको उक्त बजारभरि फोहर फालिएका कारण रोग गाउँमा फैलिन सक्ने भन्दै स्थानीयवासी चिन्तित बनेका छन् ।

उक्त क्षेत्रमा पर्ने सुजङ स्कूल, सुजङ अस्पातल, रातामाटी, मगरटोलका स्थानीयवासीले खुलारूपमा फोहर फाल्दा दुर्गन्ध फैलिएको स्थानीयवासीको आरोप छ । सुजङ अस्पातलमा जन्मिएका बालबालिकाका सालनाल पनि खुलारूपमा फालिएका कारण काग तथा कुकुरले टिपेर बाटोमा फाल्ने गरेको स्थानीय सञ्जी नेपालीले बताइन् ।

उनले भनिन्, “अस्पतालले फाल्ने फोहर कहिले कुकुर त कहिले कागले टिपेर ल्याउँछन् र स्थानीयवासीको खानेपानीमा फालिदिन्छन्, त्यही पानी मान्छेले खाँदा रोग त पक्कै लाग्छ होला ।” बाटोभरि फोहर फालिएको र रोग फैलिने सम्भावना रहेको भन्ने जानकारी पाएपछि सो क्षेत्रमा काम गरिरहेको एफएमडिसीद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाको सहजीकरणमा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा पत्रकारहरुले स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा सेफ्टीट्याङ्की खोल्ने गरेको, अस्पतालमा निस्कने फोहर व्यवस्थापन नभएको, सोझै खोलामा दिसापिसाब मिसाउने गरेको भेटिएको छ । राजपुरस्थित शहीद स्मृति आवासीय विद्यालय, सुजङ बोर्डिङ स्कूल, सुजङ अस्पताल, रातामाटी, मगरटोल, फेमिलीटोल लगायतमा सरसफाइको अवस्थाबारे अनुगमन गरिएको थियो ।

वडा सदस्य दिलबहादुर कठायतले भने, “अस्पतालको फोहर फाल्ने डम्पिङसाइट खुला हुँदा कुकुर, कागले फोहर ल्याउने गरेको र स्कूलबाट पनि ढल फाल्ने गरेको अनुगमनका क्रममा पायौँ, सरोकारवालालाई सम्झाएर फर्किएका छौँ ।” अनुगमन टोलीलाई सरोकारवालाले सरसफाइ गर्ने प्रतिबद्धता गरेका छन् । अनुगमन टोलीसँग सुजङ अस्पताल पछाडि रहेको रातामाटीका बासिन्दाले अस्पतालको फोहरबारे चर्को आलोचना गरेका थिए । उनीहरुले अस्पतालको फोहर व्यवस्थापन नहुँदा बस्तीभरि दुर्गन्ध फैलिएको दुखेसो पोखेका थिए ।

सुजङ अस्पतालको फोहर घर नजिकै फालिने गरेको र सोही फोहर कुकुर, काग, पशुपक्षीले घरमा पु¥याइदिने र केटाकेटीले खेल्नका लागि घरमा ल्याउने गरेको स्थानीयवासी पार्वती बोहराको आरोप छ । उता सुजङ अस्पतालले भने आफूहरुको अस्पतालबाट निस्किएको फोहर स्थानीयको घर, बाटोमा नफालेको र उडेर वा अरु कुनै माध्यमबाट गएको हुनसक्ने दावी गरेको छ ।

व्यवस्थापनका लागि पहल गरिने अस्पतालले प्रतिबद्धता गरेको छ । एफएमडिसीले दिपायल सिलगढी–४ मा कुमालीकोट स्थानीयसभा गठन गरी नियमितरूपमा स्थानीय समस्या तथा सम्भावनाबारे स्थानीयवासीबीच छलफल गर्ने गरेको छ । रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार ००:००