१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिखर नगरपालिकामा नगरबस, पत्रकार र ज्येष्ठ नागरिकलाई निःशुल्क



फागुन १, डोटी । शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा पत्रकार, अपाङ्गता भएका व्यक्ति, असहाय र ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने भएका छन् ।

नगरपालिकामा मङ्गलबार बसेको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जानकारी दिए ।

नगरपालिकाका नागरिकको सहुलियतका लागि बस सञ्चालन गरेकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्ति, असहायलाई सेवासुविधा दिन सो निर्णय गरिएको नगरप्रमुख सीताराम जोशीले बताए ।

पत्रकारलाई समाचार सङ्कलनका क्रममा सजिलो होस् भन्ने उद्देश्यले नगरबसमा निःशुल्क यात्राको व्यवस्था गरिएको उनले जानकारी दिए । नगरपालिकाले गरेको उक्त निर्णयलाई स्थानीयवासीले स्वागतयोग्य काम भनेर खुशी व्यक्त गरेका छन् । नगरपालिकाले केही महीनाअघि मात्रै दुई नगरबस सञ्चालनमा ल्याएको छ । अरु गाडीभन्दा उक्त नगरबसले ३० प्रतिशत कम भाडा लिँदै आएको छ ।

थलीलाई बोयर बाख्राको स्रोतकेन्द्र बनाइँदै

जोरायल गाउँपालिका–४ को थलीगाउँलाई बोयर बाख्राको स्रोतकेन्द्रका रुपमा विस्तार गरिने भएको छ । गाउँपालिकाले अवलम्बन गरेको ‘एक गाउँ, एक उत्पादन’ को नीति अनुरुप गत वर्ष थलीगाउँका २७ परिवारलाई छ लाख लगानीमा प्रतिपरिवार एक एक बोयर बाख्राका पाठी र गाउँमा तीन बोयर बोका वितरण गरेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

उक्त गाउँलाई बोयर बाख्राको गाउँपालिकास्तरीय स्रोतकेन्द्रका रुपमा विस्तार गर्न लागिएको पशु सेवा एकाइ प्रमुख मानबहादुर रानाले जानकारी दिए ।

पूर्णरुपमा जनजातिको बसोबास रहेको र अन्य पेशा व्यवसायभन्दा बाख्रापालन गर्न सहज पनि भएकाले सो गाउँमा आयआर्जनका लागि बाख्रापालनमा गाउँपालिकाले सहयोग गरेको अध्यक्ष ओझाले बताए । उक्त गाउँमा वितरण गरिएका बाख्राले अहिले पाठापाठी पाएर एकबाट १२ पुगेको सिद्धबाबा जनजाति बाख्रापालन समूह थलीका अध्यक्ष खड्कबहादुर बुढामगरले जानकारी दिए ।

गत वर्ष जोरायल गाउँपालिकाका सबै वडा समेट्ने गरी अन्य ठाउँमा नौ बोयर बोका वितरण गरिएको थियो । यस वर्ष पनि गाउँपालिका पशु सेवा एकाइले १० बोयर बोका वितरण गर्ने तयारी गरेको छ भने बाख्राको खोर सुधारमा ५० हजारका दरले १० किसानलाई छनोट गरिसकेको बताइएको छ ।

रुपसकाँडा र वडा नं १ को गोगनपानीका किसानले करीब तीन वर्षदेखि नै कृषि तथा खाद्य सुरक्षा आयोजनामार्फत प्रदान गरिएका बोयर जातका बाख्रापालन गर्दै आएको ग्रामीण कृषि कार्यकर्ता खडकबहादुर मल्लले जानकारी दिए । रासस

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार ००:००