३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संरक्षणको अभावमा खण्डहर बन्दै खङ्ग्रिकोट दरबार



उमा केसी

माघ २९, रोल्पा । ऐतिहासिक तथा सांस्कृतिक धरोहरको संरक्षणमा चासो नदिँदा रोल्पाको खङ्ग्रिकोट दरबार खण्डहरमा परिणत भएको छ । सोह्रौं शताब्दीमा राजा फत्तेप्रचण्ड सेनले शासन गरेको खङ्ग्रिकोट दरबार संरक्षणको अभावमा खण्डहर बन्दै जान थालेको हो ।

ऐतिहासिक र सांस्कृतिक पर्यटनको उच्च सम्भावना बोकेको यो दरबार संरक्षणका अभावमा आफ्नो पहिचान गुमाउन सक्ने अवस्थामा पुगेको छ । यसको संरक्षण र व्यवस्थापन गर्न सके यहाँ उल्लेखनीय सङ्ख्यामा पर्यटक आउने र यसबाट गाउँको विकासमा समेत टेवा पुग्ने विश्वास स्थानीयवासी मिलन सिंहको छ ।

दरबारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने आधार रहेकाले यस तर्फ ध्यान दिनुपर्ने सिंहको सुझाव छ । विगतमा दरबार संरक्षणका लागि स्थानीयवासीले पटक पटक अनुरोध गर्दा कुनै निकायबाट सहयोग नपाएको बताउँदै उनले यो दरबार राज्यको ऐतिहासिक सम्पत्ति भए पनि यसको संरक्षणमा ध्यान नदिनु दुःखद भएको बताए ।

स्थानीय सरकार गठनपछि धार्मिक तथा ऐतिहासिक स्थलको विकास र प्रवर्धनमा विशेष ध्यान दिँदै खङ्ग्रिकोट दरबारको संरक्षणमा समेत बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । बजेट विनियोजन गरे पनि दरबारको हकवालाले स्थानीय तहलाई संरक्षणको अनुमति नदिएपछि बजेट अन्यत्रै खर्च गर्नुपरेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए ।

दरबार गाउँपालिकाको मात्रै नभएर जिल्लाकै महत्वपूर्ण सम्पत्ति भएकाले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ अध्यक्ष घर्तीले भने ।

दरबारको दीर्घकालीन संरक्षणका लागि हकवालासँग छलफल भइरहेको गाउँपालिकाले जनाएको छ । दरबार भत्किँदै जाँदा त्यहाँ प्रयोग भएका महत्वपूर्ण काठपात, इँट्टा भिङ्गटी समेत हराउँदै जान थालेका छन् । सो दरबारमा तत्कालीन राजाले प्रयोग गर्ने भाँडाकुडा समेत रहेका छन् ।

चार कोठे उक्त दरबारमा राजाको सिंहासन, स्नान कक्ष, भान्सा घर लगायतका कोठा रहेको बताइन्छ । दरबार नजिकै राजाले प्रयोग गर्ने पोखरी र मन्दिर समेत रहेको छ । मन्दिरमा दशैँको समयमा विशेष पूजाआजा गर्ने चलन अझै कायम रहेको स्थानीयवासीको भनाइ छ ।

दरबारको समग्र विकास हुनसके खङ्ग्रिकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिने पर्यटनका जानकार बताउँछन् । खङ्ग्रिकोटको चतुरभुजमा रहेको शिव पञ्चायन मन्दिर, सोही स्थानमा रहेको धार्मिक वनलाई प्याकेजमा विकास गर्न सके यो क्षेत्र पर्यटकीय हब हुनसक्ने पर्यटन पत्रकार सङ्घ रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दले बताए ।

रोल्पाको घोडागाउँ र प्यूठानको सारीस्थित रातो माटोलाईसमेत खङ्ग्रिकोटको पर्यटनसँग जोड्न सकिन्छ उनले भने । पवित्र धार्मिक पर्यटकीय क्षेत्र स्वर्गद्वारीलाई ऐतिहासिक दरबारसँग जोडेर प्याकेजमा पर्यटनको विकास गर्न सकिने सम्भावना पनि त्यतिकै रहेको छ । रासस

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार ००:००