५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति



माघ २९, भरतपुर । चितवनको कालिका नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाउने भएको छ । पहिलोपटक नगरभित्रका दुई खोलामा ढुङ्गा, गिट्टी उत्खननका लागि बोलपत्र आह्वान गरेको नगरपालिकाले अवैध उत्खनन रोक्न अनुगमन समिति निर्माण गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आफ्नै संयोजकत्वमा जिल्लाका सरोकारवाला रहने गरी अनुगमन समिति निर्माण गर्न लागेको बताए । समितिमा जिल्ला वन कार्यालयका प्रतिनिधि, प्रहरी, नगरपालिका कर्मचारी, वातावरण शाखा प्रमुख, इञ्जिनीयर र स्थानीय बासिन्दालाई समावेश गरिने उनले जानकारी दिए ।

नगरपालिकाले बोङखोलारथाङखोला र कयरखोलामा बोलपत्र आह्वान गरेको हो । जेठ मसान्तसम्मका लागि गरिएको ठेक्का सम्झौता अनुसार बोङखोला, थाङखोलाको मात्रै तीन करोड ६६ लाख ४० हजार राजश्व सङ्कलन हुनेछ । कयरखोलाको भने बोलपत्र प्रक्रियामै छ ।

“यसअघि जिल्ला विकास समिति मार्फत उत्खनन हुँदा हुने गरेको अवैध उत्खनन अबदेखि हुनेछैन” श्रेष्ठले भने, “हामी दैनिक अनुगमन गर्छौँ र तोकेभन्दा एक इन्च दाँया बाँयाबाट उत्खनन गर्न दिने छैनौँ ।” उत्खननको ठेक्का पाइसकेपछि नदी नै मेरो हो भन्ने ठेकदारी प्रवृत्ति अन्त्य गरिने श्रेष्ठको दावी छ ।

प्राकृतिक स्रोतसाधन आउने पुस्तालाई हस्तान्तरण गर्ने र जोगाइराख्ने जिम्मा यही पुस्ताको भएको भन्दै उनले त्यसमा कुनै सम्झौता नहुने बताए । नदीमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरेको क्षेत्रमा इनामेलको चिह्नसमेत लगाइएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन तथा समन्वय समिति यसअघि नै निर्माण भइसकेको छ । यसबाहेक प्रदेश सरकारको पनि आफ्नै खालको अनुगमन समिति रहने छ ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७२ बमोजिम नगरपालिकाले प्राप्त गर्ने राजश्वमध्ये ६० प्रतिशत उपयोग गर्न पाउनेछ भने छ ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने छ । रासस

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार ००:००