१६ मंसिर २०८०, शनिबार | Sun Dec 3 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा न्यायिक निरुपणले गति लिँदै



शेरिफ केसी

माघ २७, जितपुर । निर्वाचित जनप्रतिनिधि आएयता कपिलवस्तुको स्थानीय तहहरूमा न्यायिक सम्पादन गति लिएको छ । जिल्लाका १० मध्ये ८ स्थानीय तहमा न्याय सम्पादनले गति लिएको छ ।

डेढ वर्ष पुग्नै लागे पनि कपिलवस्तुका दुई तहले भने अहिलेसम्म कानूनी सल्लाहकार नियुक्त गर्न सकेका छैनन् । ती स्थानीय तहहरूमा अहिले पनि न्याय सम्पादन अन्योलमै छ ।

जिल्लाका ६ नगरपालिका उपप्रमुख र ४ गाउँपालिकामध्ये दुई वटा गाउँपालिका उपाध्यक्षसँग अहिले साथमा अनुभवी कानूनी सल्लाहकार भएसँगै न्याय निरुपणमा सहजता थपिँदै गएको छ । जिल्लाका मायादेवी र शुद्धोधन गाउँपालिकामा भने कानूनी सल्लाहकार नहुँदा न्याय निरुपणमा समस्या भएको छ ।

विगतका वर्षमा न्यायिक समितिका संयोजकलाई कानूनी ज्ञान तथा अनुभव अभावका साथै कानूनी सल्लाहकार नहँुदा निकै असहज र न्याय पनि भनेजति निरुपण भएका थिएनन् । समितिमा न्यायिक कार्यसम्पादनसम्बन्धी विज्ञ नहुँदा कानूनी जटिलता देखिएको नगरपालिकाका पदाधिकारीको भनाइ छ ।

कानूनी सल्लाहकार नहुँदा न्याय सम्पादनमा गम्भीर असर पर्नाका साथै कानूनी ज्ञान अभावले विवाद समाधानमा ढिलाइ हुने गरेको थियो । अहिले जिल्लाका दुई स्थानीय तहबाहेक आठ वटै स्थानीय तहले न्यायिक समितिमा कानूनी सल्लाहकार नियुक्त गरेका छन् ।

“विगतमा न कानूनबारे पर्याप्त जानकारी थियो, न त कानूनी सल्लाहकार थिए,” बुद्धभूमि नगरपालिकाकी उपप्रमुख मीरा थारुले भनिन् । अहिले कानुनी सल्लाहकार नियुक्त भइसकेपछि न्यायिक समितिका पदाधिकारी अलमलमा नपरेको थारुले बताइन् । गत आर्थिक वर्ष जिल्लाको कपिलवस्तु नगरपालिकामा अन्य स्थानीय तहमा भन्दा कम मुद्दा दर्ता भएका थिए ।

कपिलवस्तु नगरपालिकामा गत बर्ष २२ वटा मुद्दा दर्ता भएकामा १४ वटा मेलमिलापको माध्यमबाट किनारा लगाएको न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख लक्ष्मी गुप्ताले जानकारी दिइन् । केही मुद्दा अदालत पठाएको र बाँकी कार्यान्वयनको चरणमा रहेका गुप्ताले बताइन् ।

कपिलवस्तु नगरपालिकामा यस आवको पुस मसान्तसम्ममा नगरपालिकामा १० मुद्दा दर्ता भएका छन् । अहिलेसम्म यी १० वटा मुद्दाको भने छिनाफानो गरिएको छैन ।

सबैभन्दा बढी मुद्दा दर्ता हुनेमा शिवराज नगरपालिका रहेको छ । यस नगरमा आवमा ७३ मुद्दा दर्ता भएकामा ४१ मुद्दा किनारा लगाएको, ३२ वटा प्रक्रियामा रहेको नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक शिवकुमारी थारुले जानकारी दिइन् । यस आवको पुस मसान्तसम्म शिवराज नगरपालिकामा ६० वटा मुद्दा दर्ता भइसकेकामा ३२ वटाको समाधान गरिएको छ र बाँकी २८ वटा प्रक्रियामा छन् ।

जिल्लाको अर्को नगरपालिका बाणगङ्गा नगरपालिकामा गत आवमा ३६ वटा मुद्दा दर्ता भएकामा ३१ वटाको मिलापत्रद्वारा समाधान गरिएको छ भने केही मुद्दा दर्ता गर्ने व्यक्ति नै सम्पर्कमा नआउँदा बाँकी रहेको नगर उपप्रमुख चक्रपाणि अर्यालले बताए ।

बाणगंगा नगरपालिकामा चालू आवको हालसम्म २६ वटा मुद्दा दर्ता भइसकेका छन् । ५ वटाको मिलापत्रद्वारा समाधान गरिएको, एउटा अदालतमा पठाएको, अरु बाँकी प्रक्रियामा छ ।

बुद्धभूमि नगरपालिकामा गत आवमा २१ वटा मात्र मुद्दा दर्ता भएकामा सबै घटना मेलमिलापको माध्यमबाट समाधान भएको न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख मीरा थारुले बताइन् । बुद्धभूमी नगरपालिकामा यस आवको पुस मसान्तसम्म २३ वटा मुद्दा दर्ता भएकामा १० वटा मेलमिलापको माध्यमबाट समाधान गरिएको र अन्य कार्यान्वनको चरणमा छ ।

कृष्णनगर नगरपालिकामा गत आवमा ५० वटा मुद्दा दर्ता भएकामा २५ वटा मेलमिलापको माध्यमबाट समाधान गरिएको र बाँकी कार्यान्वयनको चरणमा रहेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख सवनम खातुनले बताइन् ।

कृष्णनगरमा यस आवको पुस मसान्तसम्म ३८ वटा मुद्दा दर्ता भएका छन् । १२ वटाको मेलमिलापकर्ताद्वारा छिनोफानो पनि गरिएको छ । केही मुद्दा प्रक्रियामा रहेको र केही दर्ता गर्ने व्यक्ति भने सम्पर्कविहीन छन् ।

महाराजगञ्ज नगरपालिकामा गत आवमा मात्र २८ वटा मुद्दा दर्ता भएकामा सात वटाको मिलापत्र, केही अदालतमा पठाइएको र केही प्रक्रियामा रहेको उपप्रमुख तथा न्यायिक समितिका संयोजक शुभावती कुर्र्मीले जानकारी दिइन् ।

महाराजगञ्ज नगरपालिकामा चालू आवको पुस मसान्तसम्ममा२५ वटा मुद्दा दर्ता भइसकेकामा ७ वटा मिलापत्रका लागि सम्बन्धित वडामा पठाएको, २ वटा अदालतमा र बाँकी प्रक्रियामा छ ।

जिल्लाका गाउँपालिकामध्ये यशोधरा गाउँपालिका न्याय निरुपण गर्नेमा अघि देखिएको छ । यस गाउँपालिकामा गत आवमा ५० वटा मुद्दा दर्ता भएकामा सबै मुद्दाको समाधान गरिएको गाउँपालिका उपाध्यक्ष कन्यावती उपाध्यायले बताइन् । यसोधरा गाउँपालिकामा यस आवको पुस मसान्तसम्म दर्ता भएका ३० वटा मुद्दामध्ये पनि अधिकांश मुद्दाको मेलमिलापकर्ताद्वारा समाधान गरिएको छ ।

सबैभन्दा बढी गाउँपालिकातर्फ विजयनगर गाउँपालिकामा मुद्दा दर्ता भएका छन् । यस गाउँपालिकामा गत आवमा ८९ वटा मुद्दा दर्ता भएकामा ८४ वटाको समाधान गरिएको र बाँकी प्रक्रियामा रहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी थारुले बताइन् । विजयनगर गाउँपालिकामा यस आवमा ८४ वटा मुद्दा दर्ता भएकोमा ३७ वटा न्यायिक समितिबाट र १९ वटा मेलमिलापको माध्यमबाट समाधान भइसकेका छन् । बाँकी १८ वटा प्रक्रियामा छ ।

मायादेवी गाउँपालिकामा गत आवमा ३० वटा मुद्दा मात्र दर्ता भएकामा २२ वटाको समाधान गरिएको र बाँकी प्रक्रियामा रहेको गाउँपालिका उपाध्यक्ष गीता तिवारीले जानकारी दिइन् । मायादेवी गाउँपालिकामा यस आवको पुस मसान्तसम्म २४ वटा मुद्दा दर्ता भएका छन् । १९ वटाको समाधान गरिएको बाँकी प्रक्रियामा रहेको तिवारीले बताइन् ।

मायादेवी गाउँपालिकामा अहिलेसम्म कानूनी सल्लाहकार नियुक्त हुन सकेको छैन । न्याय निरूपणसम्बन्धी जानकारी अभावमा न्यायिक समितिको मुद्दा किनारा लगाउन असहज भएको तिवारीले गुनासो गरिन् ।

शुद्धोधन गाउँपालिकामा पनि सल्लाहकार नियुक्त हुन सकेको छैन । यस गाउँपालिकामा गत आवमा ५२ वटा मुद्दा दर्ता भएकामा ३८ वटा मेलमिलापको माध्यमबाट समाधान, एउटा अदालतमा पठाइएको र बाँकी प्रक्रियामा रहेको न्यायिक समितिका सदस्य मायाराम यादवले बताए । चालू आवमा ६१ वटा मुद्दा दर्ता भएकामा ५१ वटा मुद्दाको समाधान र १० वटा प्रक्रियामा छ ।

मुद्दाको प्रकृति

जिल्लाका १० वटै स्थानीय तहमा दर्ता भएका मुद्दामध्ये अधिकांश तहमा जग्गा विवादका घटना दर्ता भएको पाइएको छ । कुटपिट, सम्बन्धविच्छेद, गाली बेइज्जती, लुटपाट, अर्काको बाली नोक्सान गरेको, चरन, घाँस, दाउरा, ज्याला मजदूरी नदिएको, अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रूख बिरुवा लगाएको, आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेकोलगायत घटना दर्ता भएका छन् । रासस

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार ००:००