३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी–जोमसोम सडक कालोपत्र हुँदै



माघ २७, गलेश्वर । दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने नेपालको सबैभन्दा छोटो सडक बहुचर्चित कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक आगामी चैतबाट कालोपत्र हुने भएको छ ।

प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको बताए । अहिले चार प्याकेजमा धमाधम काम भइरहेको र आगामी चैतदेखि कालोपत्रको काम सुरू गरिने उनले जानकारी दिए । कालीगण्डकी करिडोर राष्ट्रिय गौरवको आयोजना हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सञ्चारकर्मीसँगको भेटमा आयोजना प्रमुख अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

बेनीदेखि कोरलासम्मको १ सय ८६ किलोमिटर सडकमा ११ प्याकेजमा काम भइरहेको जानकारी दिँदै उनले चालू आर्थिक वर्षभित्र विभिन्न ठाउँमा मोटरेबल पुल निर्माणबाहेक जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सकिने बताए ।

बेनीबजार संरक्षणका लागि प्याकेजमा निर्माण शुरु

उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको म्याग्दीको सरदमुकाम बेनीबजारको संरक्षणका लागि तटबन्ध निर्माण कार्य शुरु भएको छ ।

पोखराको रुपाताल एकीकृत संरक्षण विकास परियोजनासँग सम्झौता गरी उपभोक्ता समितिमार्पmत शुक्रबारदेखि काम शुरु गरिएको हो । चार उपभोक्ता समिति गठन गरी निर्माणकार्य थालिएको बेनी नगरपालिका–८ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।

ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्दा बढी समय लाग्ने भएकाले चार वटा प्याकेजमा विभाजन गरी उपभोक्ता समितिमार्फत योजना कार्यान्वयनलाई अगाडि बढाइएको छ ।

२ करोड ८५ लाख रुपैयाँमा निर्माण हुन लागेको आयोजनामा स्थानीयवासीको १० प्रतिशत श्रमदान रहने बराइलीले बताए ।

बेनी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालीगण्डकी नदीको किनारमा १ सय ७१ मिटर ग्याविनसहितको अस्थायी पर्खाल र पहिलेको कंक्रिट पर्खाल संरक्षणका लागि १ सय ८० मिटरमा जाली बिछ्याइने छ । रासस

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार ००:००