२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन तहका सरकारबीच द्धन्द्ध होइन, सहकार्य जरुरीः मुख्यमन्त्री शाही



माघ २६, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन तहका सरकारहरुबीच द्वन्द्व नभई आपसी समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ, कर्णाली प्रदेशको प्रथम अधिवेशनको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य हुननसके सङ्घीयता संस्थागत हुन नसक्ने बताएका छन् ।

संविधानको मूल ‘स्पिरिड’ नै तीन तहका सरकारहरुबीच समन्वय र सहकारिता रहेको भन्दै उहाँले एक–अर्काको अधिकार खोसेर गन्तव्यमा पुग्न नसकिने बताए ।

सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भइरहेका केही अन्योल र अस्पष्टतालाई अनावश्यक रुपमा बुझ्न नहुने उनको भनाइ थियो ।

“हामी प्रारम्भिक चरणमा छौँ, वित्तीय र प्रशासनिक पुनः संरचनामा हुन बाँकी नै छ,” उनले भने, “यस्तो अवस्थामा सिक्दै अघि बढ्ने हो, द्वन्द्वसिर्जना गरेर व्यवस्था मजबुत हुँदैन्न ।”

मुख्यमन्त्री शाहीले तीन तहका सरकारबीच पर्याप्त संवाद र सहकार्यबिना राष्ट्रले सङ्कल्प गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराले सार्थकता नपाउने विचार व्यक्त गरे ।

यद्यपि, सहकार्य गर्दा एक–अर्काको सह–अस्तित्वमा ठेस पु¥याउन नहुने बताए । उहाँले सङ्घीयता विरोधीले भ्रम सिर्जना गर्ने अनेक प्रयत्न गरिरहेकाले सजग हुन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा( का केन्द्रीय सदस्य एवं प्रदेश सांसद गुलाबजङ्ग शाहले गाउँपालिका महासंघ आफैँमा जनप्रतिनिधिको अगुवा सङ्गठन भएकाले प्रदेश र सङ्घ सरकारबीच उचित समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

“अधिकार मात्र खोजेर हुँदैन, संविधानमै सबैको अधिकार स्पष्ट लेखिदिएको छ,” उनले भने, “अब अधिकारको अधिकतम प्रयोग गरेर गाउँपालिकाहरुबीच विकासको प्रतिस्पर्धा हुन आवश्यक छ ।”

गाउँपालिका महासङ्घका प्रदेश संयोजक कवीन्द्रकुमार केसीले प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय तहबीच साझा लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीति तय गरिने जानकारी दिए । नेकपा कर्णाली प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, प्रदेश सांसद यज्ञबहादुर बिसी, जिविस महासङ्घका पे्रमबहादुर थापा लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए । रासस

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार ००:००