८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्पष्ट नीति अभावमा सडक अलपत्र अवस्थामा



माघ २४, जिरी । तीन तहको सरकारको अहिलेसम्म अधिकार बाडफाँट नहुँदा विकासमा प्रत्यक्ष असर पर्न थालेको छ । प्रदेश र सङ्घ कसले काम गर्ने भन्ने स्पष्ट नीतिको अभावमा दोलखा र सिन्धुपाल्चोकका झण्डै २४ वटा सडक अलपत्र अवस्थामा पुगेका हुन् ।

सरकारले प्रदेश अन्तर्गत पठाएको उल्लिखित सडक आवश्यक जनशक्ति र बजेटको अभावका कारण अलपत्र अवस्थामा परेका हुन् । पहिले दोलखामा रहेको डिभिजन सडक कार्यालयले दोलखा र सिन्धुपाल्चोकका सडकको काम गरिरहेकामा मुलुक सङ्घीयतामा गएपछि दोलखामा रहेको डिभिजन सडक कार्यालयलाई सडक डिभिजन कार्यालय नामकरण गरी सङ्घ अन्तर्गत राखिएको छ भने प्रदेश अन्तर्गतको सडक कार्यालय सिन्धुपाल्चोकमा रहेको छ ।

मुलुक सङ्घीयतामा गएपछि दोलखाको ११ र सिन्धुपाल्चोकको १३ वटा निर्माणाधीन सडक प्रदेश अन्तर्गत गएका छन् । प्रदेश अन्तर्गत गएका सडक कसले हेर्ने र बजेट कसरी व्यवस्थापन गर्ने भन्ने समस्याका कारण दोलखा र सिन्धुपाल्चोकका निर्माणाधीन सडक अलपत्र अवस्थामा रहेको सडक डिभिजन कार्यालय दोलखाका डिभिजन प्रमुख धर्मेन्द्रकुमार झाले बताए ।

स्पष्ट नीतिको अभाव हुँदाहुँदै पनि कतिपय काम नगरी नहुने खालका सडकका काम भने सडक डिभिजन कार्यालय दोलखाले हेरिरहेको डिभिजन प्रमुख झाले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत मङ्सिर २१ गते सडक विभागलाई परिपत्र गरी सम्बन्धित कार्यालयले अनुमति दिएमा प्रदेश अन्तर्गत गएका सडकको काम सडक डिभिजन कार्यालयमार्फत गराउन सक्ने जानकारी गराएकाले प्रदेश सरकारले अनुमति दिएमा प्रदेश अन्तर्गत गएका दोलखा र सिन्धुपाल्चोकका सडकको काम पूर्णरूपमा सडक डिभिजन कार्यालय दोलखाले हेर्नसक्ने डिभिजन प्रमुख झाको भनाइ छ ।

जनशक्तिको अभावकै कारण प्रदेश सरकारले भने जसरी प्राविधिकहरू मात्र उपलब्ध गराउन भने नसकिने झाले बताए । उक्त कुरा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले सडक विभागलाई गरेको परिपत्रमा समेत उल्लेख भएको झाले जानकारी दिए । रासस

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार ००:००