१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपहाडी लोकमार्गः च्यास्मिटार–दुर्छिम–हलेसी खण्ड जोखिमपूर्ण



माघ २४, खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको च्यास्मिटारदेखि हलेसीसम्मको सडकको यात्रा जोखिमपूर्ण बनेको छ । जयराम–हलेसी ३० किलोमिटर सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा खाल्डाखुल्डी बनेपछि यात्रा जोखिमपूर्ण बनेको हो ।

जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेको छ । स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलो पटक २०६७ सालमा गरेको कालोपत्रे छोटो समयमै उप्किएपछि सबैभन्दा बढी हलेसी आउने जाने पर्यटक तथा दर्शनार्थीलाई समस्या भएको छ ।

ठेकेदारको लापर्वाहीका कारण कालोपत्रे चाँडै उप्किएपछि सवारी साधन हिँड्नै मुस्किल पर्नेगरी खाल्डाखुल्डी बनेको वडा नम्बर–३ च्यास्मिटारका वडाध्यक्ष भलाराज राईले बताए । सो सडक खण्डमा सवारी साधन चलाउने चालक छिनछिनमा भेटिने खाल्डाखुल्डी छल्दै सवारी साधन चलाउन बाध्य छन् ।

हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानी लगायतका शहर जाने र आउने एकमात्र प्रमुख हो । हाल सो सडकमा दैनिक हलेसी र दिक्तेल आउने÷जाने सयौँ सवारी साधनको ओहोरदोहोर हुने गर्छ ।

विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धूलो नियन्त्रणका लागि लगाइने ओटासिल नै बाँकी नरहेपछि गाडीभित्रै धूलो छिर्ने गरेको यात्रुको गुनासो छ । २०७१ सालमा ठेक्का लगाएर जयरामदेखि च्यास्मिटारसम्म तथा बडहरे र दुर्छिमको केही भागमा मर्मत गरिए पनि बीचका अन्य खण्डमा ठूला–ठूला खाल्डो यथावत छ ।

जयराम–हलेसीको विभिन्न १३ टुक्रा गरी १६ हजार ३०० मिटर खण्ड कालोपत्रे गर्ने ठेक्का लिएको रौता कन्ट्रक्सनले सम्झौताअनुसारको काम पूरा गरेर हिँडिसकेको छ । सोही सडकखण्डको चिसो र हिलाम्मे हुने १७ हजार मिटर खण्डमा सूर्य कन्ट्रक्सनले आरसिसी ढलान र स्ट्रक्चरको काम गरिरहेको छ ।

स्थानीयवासीका अनुसार दुर्छिमको छापडाँडा र हलेसीबीचमा पर्ने सडकमा सबैभन्दा बढी खाल्डाखुल्डी बनेको स्थानीयवासीले बताएका छन् । कतिपय घुम्तीमा समेत खाल्डाखुल्डी हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कम्तीमा दश वर्ष टिक्नुपर्ने उक्त सडकखण्डको ओटासिल तीन वर्ष नपुग्दै उप्किन थालेको स्थानीयवासीले बताएका छन् । ठेकेदारले आफ्नो फाइदाका लागि गुणस्तरहीन काम गर्न थालेपछि स्थानीयले उसबेला नै सडक सङ्घर्ष समिति गठन गरेर खबरदारी गरे पनि गुणस्तरीय हुन सकेन ।

जयरामदेखि हलेसीसम्मको सडक पिच गर्नेक्रममा ठेकेदारले बस्ती नजिकबाहेकका विभिन्न खण्डमा कालोपत्रे नै नगरी छाडेको थियो । सडकका बाँकी खण्डमा पनि कालोपत्रेको काम पूरा गर्न भन्दाभन्दै ठेकेदार भागेको स्थानीयले बताएका छन् ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसी आवत जावत गर्ने एक मात्र सडक जोखिमपूर्ण बनेपछि तत्काल पुनः मर्मत गर्न सडक विभागलाई अनुरोध गरिएको नगर प्रमुख इवन राईले बताए । “हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दिनानुदिन दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।” उनले भने, “सडक खाल्डाखुल्डी भएपछि जोखिम मोलेर दैनिक सयौँको सङ्ख्यामा ओहोर दोहोर गराउनुपर्ने भएकाले तत्काल मर्मत गरिदिन सडक विभागलाई अनुरोध गरिएको हो ।”

जयराम–हलेसी सडकखण्डमा देखिएको जोखिम न्यूनीकरण गर्न नगरपालिकाको तर्फबाट पटक पटक मर्मत गरिएको छ । जयराम–हलेसी सडक नगरपालिकाकोतर्फबाट गरिने मर्मतले मात्र सम्भव नहुने र उक्त सडक राष्ट्रिय गौरवको आयोजना भएकाले सडक विभागले हेर्नुपर्ने नगरप्रमुख राईको भनाइ छ । रासस

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार ००:००