१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङका १० मध्ये ७ स्थानीय तह भाडाका घरमा



तारानाथ आचार्य

माघ २४, बलेवा । बागलुङ जिल्लामा रहेका १० स्थानीय तहमध्ये सातले भाडाका घरमा सञ्चालित छन् । तीमध्ये बागलुङ नगरपालिका, ताराखोला र तमानखोला गाउँपालिकाले मात्रै आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्दै आएका छन् ।

बाँकी तीन नगरपालिका र चार गाउँपालिकाले घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका हुन् । ती स्थानीय तहको आफ्नै भवन नभएको र नयाँ भवन बनाउन जग्गा समेत नभएका कारण भाडाको घरबाट कार्यालय सञ्चालन गर्नुपरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले बताइन् ।

जैमिनी नगरपालिकाले सबैभन्दा धेरै भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ । स्थानीय दुई व्यक्तिको घरलाई मासिक ९५ हजार ६६० दिएर कार्यालय सञ्चालन गर्दै आइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउछन् । आफ्नै भवन निर्माणका लागि जग्गाको खोजी भइरहे पनि जग्गा नपाइएको उपप्रमुख लीला रानाले बताइन् ।

ढोरपाटन नगरपालिकाले पनि दुई घर ९४ हजार ५०० मा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । गल्कोट नगरपालिकाको कार्यालय पनि भाडाकै भवनबाट सञ्चालनमा रहेको छ । तीन व्यक्तिको घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ । शिक्षा र स्वास्थ्य शाखा अलगअलग भवनमा छन् भने बाँकी सबै शाखा एउटै भवनबाट सञ्चालन गरिँदै आएको छ ।

कार्यालय सञ्चालनका लागि लिइएका घरको भाडा मात्रै मासिक ८४ हजार भुक्तानी हुने गरेकाले आफ्नै भवन बनाउन जग्गाको खोजी भइरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले बताए ।

निसीखोला गाउँपालिकाको कार्यालय सञ्चालनका लागि पनि तीन भवन भाडामा लिएको छ । मासिक ३४ हजार भाडा भुक्तानी हुन्छ । गाउँपालिकाको कार्यालय भवन बनाउनका लागि जग्गा लिएको गाउँपालिकाले आगामी आवमा आफ्नै भवन बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।

बरेङ गाउँपालिकाका केही शाखा सरकारी भवन र केही शाखा निजी भवनबाट सञ्चालन हुँदै आएका छन् । तत्कालीन हुग्दीशिर गाविसको भवनमा राखिएका प्राबिधिक शाखाबाहेक सबै शाखा भाडाकै भवनबाट सञ्चालन हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताए । उक्त गाउँपालिकाले मासिक १५ हजार भाडा भुक्तानी गर्ने गरेको छ ।

ताराखोला गाउँपालिकाको भने आफ्नै भवन छ । तत्कालीन अर्गल गाविस भवनलाई मर्मत गरेर एक तला थप गरी कर्यालय सञ्चालनमा ल्याइएको बताइएको छ । बडिगाड गाउँपालिकाले पनि दुई भवन मासिक ३५ हजारमा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको प्रमुख प्रसाशकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गरिसकेको गाउँपालिकाले तत्कालका लागि भवन बनाउने योजना नरहेको जनाएको छ ।

तमानखोला गाउँपालिका पनि आफ्नै भवनमा छ । आफ्नै भवनबाट कार्यालय सञ्चालन भइरहेकाले भाडाको दायित्व नरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । काठेखोला गाउँपालिकाले भने एउटै भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ भने ताराखोला र तमानखोलाले आफ्नै भवन भएकाले एउटै भवनबाट कार्यालय सञ्चालन गरेको भए पनि भाडामा रहेका सबै पालिका दुई वा दुईभन्दा बढी भवनमा शाखा राखेका छन् ।

जिल्लामै सबैभन्दा धेरै भवनमा फैलिएको बागलुङ नगरपालिका हो । रातमाटामा रहेको आफ्नै भवनका अलवा नगरका विभिन्न शाखा सदरमुकाममा रहेका साविकका सरकारी कार्यालय कब्जा गरेर स्थानान्तरण गरिएको छ । पहिले जिल्ला विकास समिति रहेको भवनमा कर शाखा, महिला तथा बालबालिका कार्यालयमा न्यायिक समिति तथा महिला शाखा, भूसंरक्षण कार्यालयमा सहकारी शाखा र साविकको जिल्ला कृषि विकास कार्यालयमा प्रशासन लेखा लगायतका शाखा राखिएको छ ।

बागलुङ नगरपालिकालाई नगरप्रमुखको आवास र प्रमुख प्रसाशकीयको आवासबाहेक भाडाको दायित्व छैन । भाडामा सञ्चालनमा रहेका स्थानीय तहले बेलाबेलामा समस्या हुने गरेको बताउँछन् । रासस

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार ००:००