१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेचीनगर नगरपालिकालाई अग्निनियन्त्रण सामग्री प्रदान



माघ २४, भद्रपुर । बेलायतस्थित गोर्खा मेमोरियल फण्डले झापाको मेचीनगर नगरपालिकालाई १५ लाख बराबरको अग्नि नियन्त्रणका सामग्री प्रदान गरेको छ ।

फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङले बुधबार नगरपालिकाका प्रमुख विमल आचार्यलाई जेनेरेटर, ह्युमपाइप, हेल्मेट लगायत सामग्री प्रदान गरेका हुन् ।

गुरुङसहित बेलायतका अग्निनियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ स्ट्रिट समेत नेपाल आएका थिए । उनीहरुले तीन दिन सम्म मेचीनगर, विर्तामोड, दमक, भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा कार्यरत अग्निनियन्त्रयक तथा नगर प्रहरीलाई विपत् व्यवस्थापनसम्बन्धी तालीम प्रदान गर्ने नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

मेचीनगर–६ काँकडभिट्टा निवासी गुरुङ बेलायत फोक्सटन क्षेत्रका नेपालीमूलको पहिलो पूर्वकाउन्सिरसमेत हुन् । यसअघि गुरुङको सक्रियतामै भारतीय राजदूतावासमार्फत एउटा एम्बुलेन्स मेचीनगर नगरपालिकालाई उपलब्ध गराइएको थियो ।

उद्योग बन्द गर्न माग

झापाको दुहागढीमा सञ्चालित बिबिसी इँटा उद्योगको प्रदुषणका कारण जनजीवन कष्टकर बनेपछि उद्योग बन्द गर्न माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार मेचीनगर–१४ को वडा कार्यालयमा उद्योगबाट निस्कने धुलो र धुँवाले स्वास्थ्यमा असर पार्नाका साथै उद्योग वरपरका जग्गामा कृषकले लगाएका बालीनालीमा समेत क्षति पुगेकाले स्थानीयवासीले उद्योग बन्द गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

विगत १२ वर्ष देखि सञ्चालित सो उद्योगले स्थापना हुँदा स्थानीयवासी र तत्कालीन गाउँ विकास समितिसँग गरेका कुनै पनि सम्झौता पालना नगरेको स्थानीयवासी विश्व थापाले बताए । सम्झौताको पहिलो बुँदामा स्थानीयवासीले प्रदुषण बढेको ठहर गरेमा जुनसुकै बेला उद्योग बन्द गर्नुपर्ने लेखिएको हुँदा सो उद्योग बन्द गर्नुको विकल्प नरहेको सङ्घर्ष समितिका गोपीराज मैनालीले बताए ।

वडा कार्यालयमा सङ्घर्ष समितिको अगुवाईमा १५० भन्दा बढी पीडितले हस्ताक्षर गरी उद्योग बन्द गराउन ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै वडाध्यक्ष शङ्करप्रसाद पोखरेलले वडावासीको समस्या समाधान गर्नेतर्फ तत्काल पहल गर्ने बताए । रासस

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार ००:००