४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रानीपोखरी पुनःनिर्माण प्राधिकरणले गर्ने



माघ २१, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरी पुनःनिर्माणको कार्य गर्ने भएको छ । सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएपछि पुनःनिर्माण गर्ने भएको हो ।

परम्परागत शैली र मौलिकतालाई संरक्षण गरी रानीपोखरी वरिपरिको भाग प्रताप मल्लकालीन शैलीमा पुनःनिर्माण गरिने जनाइएको छ ।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुटशिखर शैलीमा गर्ने भन्ने विवाद थियो । विज्ञले दिएको सुझाव समेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौं महानगरपालिका लगायतसंग समन्वय तथा सहजीकरण गरी पुरानै शैलीमा पुनःनिर्माण गर्ने निर्णय छ । यही माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणलाई पुनःनिर्माणको जिम्मेवारी दिइएको जनाइएको छ ।

प्राधिकरणले भूगर्भविद्बाट रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययन गराएको थियो । विज्ञले ३०० फिट तलबाट पानी निकाल्न सकिने र कालीमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला सङ्घसंस्था, स्थानीय समुदाय लगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनःनिर्माण गर्ने बताए । रासस

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार ००:००